२१ बैशाख २०८१, शुक्रबार

दलको नाम फेरे माधव नेपाल र महन्थ ठाकुरले 


माधव नेपाल र महन्थ ठाकुर

काठमाडौं । नयाँ दल दर्ताका लागि गत बुधबार निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्तावित दलको नाम नाम फेरेका छन् ।

ती दुवै पक्षले दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको हो ।

नेपाल समूहका नेता राजेन्द्र पाण्डे र डा. विजय पौडेलसहितको बिहीबारको छलफलका क्रममा आयोगले उनीहरूलाई नयाँ नाम ल्याउन भनेको थियो । सोहीअनुसार पाण्डे र पौडेल लगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका हुन् ।

यसअघि नेपाल पक्षले नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) राखेको थियो । यसैगरी, नयाँ दलमा पहिले ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकामा हाल बढाएर १ सय १५ पु-याइएको छ । तर, निर्वाचन चिह्नबारे भने निर्णय नभइसके पनि ‘कलम’ हुन सक्ने बताइएको छ ।

यस्तै, यसअघि जसपा (लोकतान्त्रिक) नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा पत्र बुझाएको भए पनि आफूहरूले दलको नाम ‘लोकतान्त्रिक समाजवादी’ पार्टी प्रस्ताव गरेको सो दल प्रस्तावका लागि आयोग पुगेका नेता केशव झाले जानकारी दिए ।

यसअघि प्रस्ताव गरिएको केन्द्रीय कार्यकारिणी समिति पनि २४ बाट बढाएर ३१ पु-याइएको उनले जानकारी दिए । यसैगरी, वरिष्ठ नेतामा यसअघि राजेन्द्र महतोको नाम मात्र प्रस्ताव गरिएकोमा शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको उनले जनाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले बिहीबार नै नियमावलीमासमेत संशोधन गरिसकेको छ । नियमावली संशोधन भएपछि आयोगले दल दर्ताका लागि नयाँ निवेदन मागेको हो ।

नेकपा एमालेले आफ्नो दलको नामसँग मिल्नेगरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई सचेत गराएको छ । एमाले नेताहरू आयोग पुगेरै आफ्नो दलसँग मिल्ने नाम दर्ता नगर्न आयोगलाई भनेका हुन् । माधवकुमार नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएपछि मूल एमालेका नेताहरू शुक्रबार ध्यानाकर्षण गराउन आयोग पुगेका थिए ।

उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झन्डा र चुनाव चिह्न संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै ध्यान दिन भनेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दर्ता गरेका माधव नेपाल र महन्थ ठाकुर पक्षलाई ९ भदौमा सनाखतका लागि आयोगमा बोलाएको छ । योसँगै दल दर्ताको प्रक्रिया सुरु भएको छ ।

नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा शुक्रबार निवेदन दर्ता भएको थियो ।

दुवै पक्षले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेपछि आयोगले सोही निवेदनकै आधारमा दलमा तोकिएका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कानुनअनुसार सनाखत गर्न ९ भदौका लागि बोलाएको आयोगले जनाएको हो ।

सो सम्बन्धमा शुक्रबार निर्वाचन आयोगको पदाधिकारी बैठक बैठकसमेत बसेको थियो । ‘नयाँ दल दर्ताका लागि निवेदन दिएका दुवै दललाई ९ भदौका लागि सनाखतका लागि बोलाइएको छ, आयोगले दल दर्ताका लागि प्रक्रिया सुरु गर्यो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।

उनका अनुसार प्रस्तावित दलका नेता र सांसदहरूलाई हस्ताक्षर गर्न ९ गते ११ बजेदेखि २ बजेसम्मको समय आयोगले तोकेको छ । आयोगले सनाखतका लागि आउँदा नागरिकतासहित आउन भनेको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !