२१ बैशाख २०८१, शुक्रबार

बाँकेमा बाघैबाघ, हेर्न आउँदैनन् कोही


बाघ

काठमाडौं । बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ ।

सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रूपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।

निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन् ।

बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागू भएको छैन ।

निकुञ्जमा अलिकति सफारी गर्नेबित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताए । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुसी भएका छन्’, चौधरीले भने– ‘त्यसका बाबजुद प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइ बन्न सकेको छैन ।’

बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज शहरदेखि नजिकै रहेको छ । नेपालगन्जमा पर्यटकलाई केन्द्रमा राखेर ठूल्ठूला होटल बनेका छन् । मानसरोवर, रारा, से फोक्सोण्डो, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरु नेपालगन्ज भएर जाने गर्दछन् । यी ठाउँमा जाने पर्यटकको सेडुलमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने गरेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !