४ जेष्ठ २०८१, शुक्रबार

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति, कसलाई कति ?


देउवा, प्रचण्ड, चित्र बहादुर, उपेन्द्र

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आउनुभएको छ । गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई गरी चार जनालाई मन्त्री नियुक्ति गरिसक्नुभएको छ । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेकाले जसपा उपेन्द्र यादव नेतृत्वको समूह उक्त विवाद हल भएपछि मात्र सरकारमा सहभागी हुनेभएको छ ।

देउवा नेतृत्वको सरकारमा जसपाले सात मन्त्रालय माग गरे पनि छवटामा सहमति भएको बताइएको छ । जसपाका नेता गंगा श्रेष्ठ गठबन्धनलाई एकताबद्ध बनाएर लैजाने विषय ठूलो भएकाले मन्त्रालय भागबण्डा ठूलो विषय नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘शीर्ष तहमा एक खालको समझदारी भइसकेको छ, निर्वाचन आयोगमा रहेको विवाद हल भएपछि हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !