२३ बैशाख २०८१, आइतबार

राजपा कब्जा गर्न जसपाको दुवै पक्षको होडबाजी


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । ‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ । तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो । तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुर लगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए ।

अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो । त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए ।

निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए । दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ । त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन् ।

तत्कालीन राजपा, नेपाल र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको एक वर्ष पुगेको छ । एक वर्ष पुग्नेबित्तिकै राजपा, नेपाल दर्ता गरी सो नाम कब्जा गर्न उपेन्द्र र ठाकुर पक्षको इसारामा निवेदन परेको हो ।

राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका हरिनारायण जसपा अध्यक्ष उपेन्द पक्षसँग निकट रहेको स्रोतले बतायो । उनी यसअघि उपेन्द्रले नेतृत्व गरेको समाजवादी पार्टीमा आबद्ध थिए । त्यसो त, हरिनारायणले आफूले कसैको इसारामा नभई स्वविवेकले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएको बताएका छन् । उनले पहिला आफूले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएकाले दर्ता भएको प्रमाणपत्र आफूले पाउनुपर्ने दाबी गरे ।

आयोगमा आइतबार राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका झा जसपाका अर्का अध्यक्ष ठाकुर निकट मानिन्छन्। तर ठाकुर निकट नेताहरूले झासँग आफूहरूको कुनै सम्बन्ध नभएको बताउँछन् ।

जसपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले उपेन्द्र वा ठाकुरमध्ये एक पक्षलाई आधिकारिक जसपाको मान्यता दिनेछ । जसपाको आधिकारिकता नपाएको अवस्थामा राजपा, नेपालका नाममा राजनीति गर्न दर्ताका लागि दुवै पक्षबाट आयोगमा निवेदन दिइएको बुझिएको छ ।

ठाकुर पक्षका केही नेताले जसपा आधिकारिताका लागि लामो प्रक्रिायमा जानुभन्दा पुरानै राजपा नेपाल, दर्ता गर्न उपयुक्त हुने सल्लाह उनलाई दिएका छन् । तर ठाकुर पक्षले आयोगमा राजपा, नेपाल दर्ताका लागि निवेदन दिनुभन्दा पहिले नै उपेन्द्रपक्ष निकट हरिनारायणले निवेदन दर्ता गराए ।

चार वर्षअघि तराई-मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राजपा, नेपाल गठन गरिएको थियो । सो दलले संविधानसभाबाट संविधान जारी भएपछि भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !