१४ बैशाख २०८१, शुक्रबार

सक्रिय मनसुनले भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह


मौसम

काठमाडौँ । अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले भने, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।”

उहाँका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भू-भागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ । महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना छ । आइतबार केही भेगमा भने अति भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ ।

एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ । त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने भएकाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलमा आकस्मिक बहाव र ठूला नदीको सतहमा बढोत्तरी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ । शुक्रबारसम्म बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ ।

डोटीमा पहिरोमा परेर थप दुई जना र कालीकोटमा पहिरोले एक र सप्तरीमा बाढीले बगाएर थप एक गरी शुक्रबार थप चार जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची बस्तीमा पसेको बाढीबाट बेपत्ता भएका २० जना अझै फेला परेका छैनन् ।

वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेखलगायत विभिन्न स्थानमा पहिरो गई अवरोध भएको सडक तथा राजमार्ग प्रहरीले खुलाएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरण र उद्धारमा स्थानीय तह, विभिन्न सामाजिक संस्था र सुरक्षा निकायहरूबाट राहत वितरण भइरहेको छ । बाढी पहिरोमा पुरिएका घरबाट सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको प्रहरी प्रवक्ता वसन्त कुँवर बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !