१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री बन्न देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र


शेरबहादुर देउवा

काठमाडौं । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् ।

कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।

कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेका निष्कर्ष निकालेको हो ।

यसै गरी, कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । पार्टीको विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उनलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !