२० बैशाख २०८१, बिहिबार

नेपालको कुल जनसंख्या भन्दा झन्डै ४४ लाख बढीले खोले बैंक खाता


नेपाल राष्ट्र बैंक

काठमाडौँ । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

चालू आर्थिक वर्ष २०७७/७८ को बितेका आठ महिना (फागुन मसान्त)को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोलेका छन् । यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो । सो खातामध्ये ३ करोड ११ लाख १२ हजारले निक्षेप खाता खोलेका थिए भने १४ लाख ९८ हजार ४ सय ६७ ले कर्जा खाता खोलेका थिए ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पुर्याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन् । सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो ।

हाल खोलिएको बैंक खाता नेपालको कुल जनसंख्याभन्दा झन्डै ४३ लाख ७६ हजार ८ सय ९१ जनाले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ ।

कुल जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि सबै नेपाली नागरिकसमक्ष बैंक खाता पुग्न भने सकेको छैन । एक व्यक्तिले बैंक तथा वित्तीय संस्था नै पिच्छे फरक खाता खोल्न पाउने व्यवस्था छ । त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले हाल हरेक नेपालीको खाता नामक कार्यक्रम सञ्चालन भएको, वित्तीय साक्षरता बढेकोलगायत कारणले मुलुकको कुल जनसंख्याभन्दा धेरै बैंक खाता खुलेको बताए ।

पछिल्लो समय वित्तीय पहुँचको विस्तार राम्रो हुँदै गएको र प्रायः सबै कार्यालयमा बैंकिङ प्रणालीमार्फत तलब भुक्तानी दिन थालिएको बताउँदै ढकालले भने, ‘डिजिटल बैंकिङ कारोबार बढ्दो छ, यसैका कारण पनि अहिले बैंकमा निक्षेप खाता खोल्नेको संख्या बढेको हो ।’

नेपालको कुल जनसंख्याभन्दा निक्षेप खाताको संख्या बढी देखिए पनि कुल जनसंख्याको करिब ६१ प्रतिशतमा मात्रै बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’सम्बन्धी राष्ट्र बैंकको सो अध्ययन गत आवमा सार्वजनिक भएको थियो ।

लामो समयसम्म विभिन्न अध्ययनले ४० प्रतिशत नागरिकमा मात्रै वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेका बेला राष्ट्र बैंककै पछिल्लो अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको थियो । सोही तथ्यांकले पनि हाल मुलुकमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको पुष्टि गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !