२० बैशाख २०८१, बिहिबार

देउवाभन्दा सांसद नै नभएका रामचन्द्र पौडेल प्रधानमन्त्री बनाउन सक्रिय


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो ।

कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ ।

यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन् । तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे ।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन् । पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने वातावरण भने बन्नैपर्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत नयाँ सरकार गठनका लागि संसद्मा संख्या सुनिश्चितता गर्नु कांग्रेसका लागि पहिलो आवश्यकता रहेको बताउँछन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन ।

संसद्मा माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । माओवादीतर्फका केही सांसद भने सरकारमा मन्त्री छन् । नेकपा एमालेका मात्रै संसद्मा १२१ सांसद छन् । यस्तै, राप्रपा, जनमोर्चा र नेमकिपाका १/१ जना सांसद छन् ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !