२१ बैशाख २०८१, शुक्रबार

ओलीका निर्णयविरुद्ध खनाल-नेपाल समूह संगठित हुने


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही सुरु गरेपछि नेकपा एमालेको खनाल-नेपाल समूहले तल्लो तहसम्म संगठित हुने गरी अभियान सुरु गरेको छ । अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्दा समानान्तर गतिविधि गर्न रोके कारबाही ६ महिनाअगावै फुकुवा हुन सक्ने बताएका थिए ।

तर पार्टीका नेताद्वयलाई निलम्बन गर्ने ओलीको निर्णयपछि बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले तल्लो कमिटीसम्म आफूपक्षका नेताहरू सम्मिलित संगठन, गठन, पुनर्गठन गर्ने र समानान्तर रूपमा पार्टी गतिविधि अघि बढाउनेबारे छलफल गरेको छ । ओलीका निर्णयविरुद्ध संगठित हुन बैठकले नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

विज्ञप्तिमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा स्थायी कमिटी सदस्यमा मनोनीत भएका नेपाल पक्षीय नेताहरू रघुजी पन्त र वेदुराम भुसालले भने हस्ताक्षर गरेका छैनन् । बैठकपछि जारी विज्ञप्तिमा ओलीले सर्वोच्चको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरेर कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने प्रयत्न गरिरहेको उल्लेख छ ।

उनीहरूले प्रधानमन्त्री ओलीलाई पद र शक्ति प्राप्त भएपछि भ्रष्टाचार र अनियमितताको चाङ लाग्न थालेको जिकिर गर्दै यसबाट देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका मान्यताहरू भत्किन थालेको उल्लेख गरेका छन् ।

बैठकले नेपाल र रावललाई कारबाही गर्ने पार्टी अध्यक्षको निर्णयविरुद्ध वक्तव्य निकाले पनि अब कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निष्कर्ष निकालिसकेको छैन । उक्त स्रोतका अनुसार अबको रोडम्यापबारे छलफल गर्न नेपाल पक्षीय नेताहरूको बैठक सम्भवतः आउँदो २० गते बस्दै छ । यो समूहले कसरी अगाडि बढ्ने भन्नेबारे टुंगो लगाउन मुलुककै राजनीति पनि कतातिर उन्मुख हुन्छ भन्नेमा भर पर्छ ।

विशेषगरी माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि अघि बढ्ने राजनीतिक कोर्सले पनि नेपाल पक्षीय एमालेका नेताहरूको आगामी मार्गचित्र कोरिने देखिएको छ । अब दुई/तीन दिनभित्रै ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको माओवादीले त्यसका लागि बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका उपेन्द्र यादवसँग ‘फाइनल’ कुराकानी गर्ने जनाएको छ ।

माओवादीले गठबन्धन सरकार बनाउन सहमति जुटेमा एमालेबाहेकको सरकार बनाउन अघि बढ्ने र सहमति नभए चुनावमा जान तयार हुने गरी वामपन्थी एकता गर्ने तयारी थालेको छ । चुनावमा जाने स्थिति आउँदा खनाल-नेपाल पक्षीय नेताहरूसहित फेरि वामपन्थी दलहरूको एकता हुन पनि सक्छ तर सरकार बन्ने अवस्था रह्यो भने उनीहरू एमालेभित्रै अन्तरसंघर्ष गर्ने निचोडमा पुग्न सक्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !