१८ बैशाख २०८१, मंगलबार

सरकारमा जाने कि नजाने बारेमा कांग्रेसमा देखियो दुई धार


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौँ । सरकारमा जाने कि नजाने भनेर नेपाली काँग्रेसमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन् । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए । प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनिल ढकालले लेखेका छन् ।

देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए । देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे । ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपाईंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने हो । अरु पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ ।’

‘तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होल जस्तो लाग्छ । अरु हुने शेरबहादुर हुँदै हुन्न भन्ने होला होला,’ देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुहोस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् ।’

उनले राजनीतिक भाषा बोल्न चितवन नआएको तर पौडेलले बोलेपछि बोल्नुपरेको बताए । ‘राजनीतिक कुरा केही भन्नु छैन । रामचन्द्रजी बोलिहाल्नुभयो के गर्ने समस्या परिहाल्यो’, उनले पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा भने, ‘कांग्रेस पदउन्मुख पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन है रामचन्द्रजी । परि आयो भने भाग्नेवाला पनि छैन । त्यसकारण पार्टीलाई फाइदै होला । राम्रो कुरा त्यही हो । ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !