१५ जेष्ठ २०८१, मंगलबार

ओलीले प्रचण्डलाई लगाए गम्भीर आरोप : कम्युनिस्ट आन्दोलन नै सिध्याउन मेराविरुद्ध आरोपपत्र ल्याइयो


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भड्खालोमा हाल्न आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छाड्न पटक–पटक दबाब दिइएको बताएका छन् । आफू अध्यक्ष रहेको नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने गरी अर्को समूहले आफूविरुद्ध आरोपपत्र ल्याएको दाबी गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र गाेविन्द सुवेदीले लेखेका छन् ।

‘त्यो झुटा आरोपको पुलिन्दा किन ? म एउटा व्यक्ति हुँ, तर यो मसँग सम्बन्धित छैन, हाम्रो आन्दोलनलाई समाप्त पार्ने, पार्टी समाप्त पार्ने कुरासँग सम्बन्धित छ,’ प्रधानमन्त्री ओलीले भने । आफूले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा लिएर देशबाट गरिबी, अशिक्षा, पछौटेपन, भ्रष्टाचार हटाउँदै राष्ट्रको विकास गर्ने संकल्प लिएको वेला यस्तो आरोप लगाइएको उनको भनाइ थियो । ‘तर, सानातिना मतभेदमा अल्झिनु सही होइन,’ उनले भने ।

संसद् पुनस्र्थापनापछि प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री खोज्न दौडधुप गरेको बताउँदै प्रधानमन्त्री ओलीले संसदीय प्रक्रियाबाट आफूलाई हटाइए डेढ वर्ष आफू प्रतिपक्षमा बस्न तयार भएको दाबी गरे ।

‘प्रधानमन्त्री विधि–पद्धतिबाट होइन, गलहत्याएर हटाउने ! अविश्वासको प्रस्ताब राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरूले । संसदीय प्रक्रिया छ, संविधान छ, कानुन छ । प्रक्रियाबाट आउनुहोस्, हामी मान्छौँ । त्यसले केही बिग्रिँदैन । हामी डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुईतिहाइ मतका साथ फर्केर फेरि आउँछौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘आफू बलियो छु भन्ने लाग्नेबित्तिकै प्रधानमन्त्रीसँग कुस्ती खेल्ने ? संसदीय अभ्यासको कुरा गर्ने हो भने त्यो अभ्यासभित्र आउनुपर्यो ।

सर्वाेच्चले फैसलाले देश अन्योलमा फसेको प्रधानमन्त्री ओलीको दाबी थियो । ‘आवधिक निर्वाचनको कुरा धारा ७६ को उपधारा ७, धारा ८५ लगायतमा छ, प्रधानमन्त्रीमा अवशिष्ट अधिकार पनि हुन्छ । यी अभ्यासअनुसार चुनावमा गएको भए देश अगाडि बढ्थ्यो । अब फेरि देश अन्योलमा फस्यो,’ उनले भने ।

सर्वाेच्चले निर्णय सुनाइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न २३ फागुनमा संसद् अधिवेशन डाकेको र त्यसैले देशमा स्थिरता ल्याउने आस रहेको उनले बताए । जनताको नामै सुन्न डराउने शक्तिहरूले संसद्मा खेल्ने भूमिका हेर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रचण्ड–नेपाल समूहले देखाएको डर–धम्कीबाट विचलित नभई पार्टी र देशप्रति बफादार भएर निर्धक्कसाथ अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि सरकारसँग वार्ता गरी छिट्टै सही बाटोमा लाग्ने दाबी पनि प्रधानमन्त्रीले गरे । ‘विप्लव समूहसँग छिट्टै वार्ता हुनेछ र उहाँहरूले पनि सही बाटो समाउनुहुनेछ । तर, यी केही तत्वहरू जो आफ्नो आकांक्षाबाहेक केही देख्दैनन्, यी सकिन्छन्,’ उनले भने ।

संसदीय दलको नेताका हैसियतमा आफूले नेकपाका प्रमुख सचेतक देव गुरुङलाई पदबाट हटाएको उनले बताए । नियुक्त गर्नेले नियुक्ति बदर पनि गर्न सक्ने उनको दाबी थियो । पार्टीको केन्द्रीय समितिमा बहुमत दाबी गरिरहेको प्रचण्ड–नेपाल समूहलाई बहुमत आफैँले दिएको बताउँदै उनले आवश्यक पर्दा हटाउन पनि सक्ने चेतावनी दिए ।

‘उहाँहरूको बहुमत भनिएको केन्द्रीय कमिटी मैले बनाएको हो । त्यो अहिलेसम्म चलाएको छैन । जरुरी परेका वेला चलाउन सक्छु,’ उनले थपे, ‘कार्की बेैंक्वेटमा खान बोलाएका वेला आफैँ दलको नेता, अध्यक्ष चुनेर लड्डु खाए । उहाँहरूको बहुमत कहाँ पुष्टि भयो ? त्यो बहुमत होइन । भोज खान आएका मान्छे गनेर बहुमत हुन्छ ? अध्यक्ष, महासचिव, दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो नि ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !