१४ बैशाख २०८१, शुक्रबार

भागरथी भट्टको हत्या : पाँच दिनदेखि प्रहरी नै अलमलमा


भागरथी भट्ट

काठमाडौं । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो।

त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घटनास्थल पुगेको थियो। उक्त दिन पनि लबलेक वनमा पूरै सर्च गर्दा खासै प्रमाण भेटिएन।

सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !