२० जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री ओली प्रचण्ड र माधव नेपालप्रति किन आक्रामक बन्दैछन् ?


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र प्रचण्ड-नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।

चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय प्रचण्ड -नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन् । ओली प्रचण्ड-नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहँदा सो समूहले पनि सरकारविरुद्ध एकमहिने आन्दोलन घोषणा गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रचण्ड-नेपाल समूहले ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएपछि जवाफ दिने क्रममा उनले आक्रामक अभिव्यक्ति दिन थालेका हुन्। प्रचण्ड-नेपाल समूहले ओलीलाई व्यवस्थाविरोधी भन्दै प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनतर्फ फर्कनु हो भन्दै आएको छ ।

यस आरोपको खण्डन गर्र्ने क्रममा आइतबार आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहालले कार्यकारी अधिकार पाएपछि पार्टीमा उपद्रो मच्चाएको टिप्पणी गरे। ‘मैले के कार्यकारी पद र अधिकार दिएको थिएँ, अत्यन्त उपद्रो मच्याउनुभयो ।

अहिलेलाई हटाएको छु तर अध्यक्ष भने कायमै राखेको छु। म उहाँलाई भन्न चाहन्छु अहिले पनि आउनुस्,’ ओलीले भने। उनले वरिष्ठ नेताहरूको पनि पद कायमै रहेको बताए । प्रधानमन्त्री ओलीले शनिबार मात्रै काठमाडौं जिल्लाका कार्यकर्तासँग प्रचण्ड-नेपाललाई भेट्नो कुहिएर झरेका दुई फल, खिया लागेका नटबोल्टु जस्ता शब्दले सम्बोधन गरेका थिए ।

आइतबार ओलीले प्रचण्ड-नेपाललाई लक्षित गर्दै सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो सम्म भन्न भ्याए । उनले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि समेत व्यंग्य गरे। ‘श्रेष्ठलाई पार्टी प्रवक्ता तोकेको थिएँ, साह्रै बढी दुर्गन्ध फैलाउने काम गरे । त्यसकारण प्रवक्ताबाट हटाएको छु, सचिवालयमा भने यथावत् नै राखिएको छ,’ उनले भने। ओलीले सूर्य चिह्नआफ्नै समूहको हुने दाबीसमेत गरे । ‘चिन्ता नलिनुहोस्, सूर्य चिह्न हामीले नपाए कसले पाउँछ त ? सूर्य चिह्नअरूको हुँदैन,’ उनले भने ।

ओलीले प्रचण्ड-नेपालप्रति लक्षित गर्दै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म षड्यन्त्रका बैठक गरेको आरोप लगाए । ‘मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको अर्याल होटलमा उहाँहरूले ३ सय १५ वटा बैठक गर्नुभएछ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव हुने कुरामा विश्वस्त पार्न खोज्दै कोहीकसैलाई भ्रममा नपर्न आग्रहसमेत गरे। उनले दाहाल–नेपाललाई पार्टीको बैठकमा आउन आग्रह गर्दै अपराधलाई माफी दिने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !