२१ बैशाख २०८१, शुक्रबार

अब राहत होइन काम दिन्छौँ


राहत

दमौली, २४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले बन्दाबन्दीबाट प्रभावित भएर काम नपाएका मजदुरलाई काममा खटाएको छ । बन्दाबन्दी भएपछि काम नपाएर प्रभावित बनेका मजदुरलाई वडा कार्यालयले मङ्गलबारदेखि काममा खटाएको हो ।

यस अगाडि राहत वितरण गरिएका मजदुरलाई विकास निर्माणको काममा लगाइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन १८ जना मजदुरलाई नाला मर्मत तथा सरसफाइमा खटाइएको छ । “सधैँ राहत दिनेभन्दा पनि काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेपछि उनीहरुलाई काममा लगाएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी दिनमा काम गर्ने मजदुरको सङ्ख्या अझै वृद्धि हुनेछ ।

वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । ती व्यक्तिलाई नै काम दिइने वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । बन्दाबन्दीका क्रममा विकास निर्माणका काम शुरु गर्ने नगरपालिकाको निर्णयानुसार सावधानी अपनाएर काम शुरु गरिएको छ ।

वडा कार्यालयले बन्दाबन्दीको क्रममा सडकमा नाला निर्माण तथा मर्मत एवं सरसफाइ, कृषि तथा उत्पादनमूलक क्षेत्रमा मजदुर खटाउने भएको छ । त्यसरी काममा खटाइएका मजदुरलाई सरकारी दररेटअनुसारको पारिश्रमिक उपलब्ध गराइनेछ । “अहिले राहतभन्दा पनि कामको खाँचो रहेको पायौँ, राज्यले सधँै राहत मात्र दिन सक्दैन”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “त्यही भएर मजदुरलाई राहतको विकल्पमा काम दिएका छौँ ।” बन्दाबन्दीका क्रममा पनि काम पाएपछि मजदुर खुशी भएका छन् ।

नगरपालिकाले गण्डकी प्रदेश सरकारले तोकेको मापदण्डअनुसार नगरस्तरीय र वडास्तरीय विकासका आयोजना सञ्चालन गर्न शुरु गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिनुभयो । विकासका आयोजना सञ्चालन गर्न आवश्यक निर्माण सामग्री व्यवस्थापनका लागि नगर क्षेत्रका हार्डवयर पसल, क्रसर उद्योगलाई दैनिक दुई घण्टा खोल्न अनुमति दिइएको छ । उहाँका अनुसार निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई उपभोक्ता समितिको सिफारिसका आधारमा नगरपालिकाबाट पासको व्यवस्था गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !