२१ बैशाख २०८१, शुक्रबार

चुनौतीमा छोपिएको अवसर


बागलुङकी कोरोना संक्रमित वृद्धा

बलेवा, ११ वैशाख । कोरोना सङ्क्रमण पुष्टि भएपछि ६५ वर्षीया मनकुमारी पौडेल १७ दिन बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा बसेर उपचार गराउनुभयो । चैत २० गते भएको थ्रोट स्वाब परीक्षणमा कोरोनाको सङ्क्रमण पुष्टि भएर अस्पताल पुग्नुभएकी मनकुमारीको वैशाख ६ गते पछिल्लो रिर्पोटसमेत नेगेटिभ देखिए पछि उहाँ घर फर्किनुभयो । चैतको १५ गते अस्पतालको आइसोलेसनमा पुग्नुभएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पनि स्वास्थ्यमा कुनै समस्या छैन । उहाँको थ्रोट स्वाबको परीक्षण भइरहेको छ ।

बुधबार मात्रै सङ्कलन गरिएको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पुगेको छ । अब उहाँको रिर्पोट पनि नेगेटिभ आउनेमा चिकित्सकहरु आशावादी छन् । उहाँसँगै कतारको बाटोहुँदै नेपाल आएका काठमाडौँ, कैलाली र बागलुङकै सङ्क्रमितसमेत निकोभएर घर फर्किएकाले उहाँपनि पनि निको हुने चिकित्सकहरु अनुमान लगाउँछन् । बिरामीको स्वास्थ्यमा भैरहेको सुधार र कोरोनाकै कारण अस्पतालको भौतिक विकास तथा सरोकारवालाको चासोले यतिबेला धौलागिरी अञ्चल अस्पतालका चिकित्सकहरु पुल्कित छन् ।

तीन साता पहिला कोरोना सङ्क्रमण भएकाका बिरामी आउँदा अस्पतालका चिकित्सक नै भाग्ने अवस्था थियो । नत गतिलो मास्क नत बिरामीको नजिक जाँदा लगाउनुपर्ने पिपिई नै । एकदुई थान पिपिईको सहायतामा धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामीको उपचारमा चिकित्सकहरु लागे, जुन काम चुनौतीपूर्ण थियो । काम चल्दै गयो, सामग्री आउँदै गए । अहिले गण्डकी प्रदेशमै कोरोनाका बिरामीको सफल उपचार गराउने अस्पतालको रुपमा धौलागिरी अञ्चल अस्पतालले परिचय बनाएको छ । कोरोनाका बिरामीको उपचारमा सिमित स्रोतसाधनबीच अस्पतालका चिकित्सक र व्यवस्थापनको मेहेनतका कारण अहिले सबैको आँखा पर्न थालेको छ ।

पहिलो सङ्क्रमित आउनुभन्दा पाँच दिनपछि अस्पतालमा केही स्वास्थ्य सुरक्षा सामग्री थपिएका थिए तर ठूलो परिवर्तननै देखिने गरी केही भएको थिएन । “बिस्तारै केन्द्र र प्रदेशको आँखा प¥यो अहिले सुरक्षा सामग्रीको समस्या छैन”, अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “पर्याप्त नभए पनि काम चल्नेगरी सामग्री आएका छन् ।” दोस्रो सङ्क्रमित देखापरेपछि प्रदेश र केन्द्र सरकारले समेत आँखा अस्पतालमा पु¥यायो । फलतः यहाँ भेण्टिलेटर आए, पिपिई, मास्क र अरु स्वास्थ्य सामग्री पनि । लामो समय कसरत गर्दा निर्माण हुन नसकेको सघन उपचार कक्षसमेत बन्यो । स्टार्फ नर्सले तालिम प्राप्त गरेपछि यो पनि सञ्चालनमा आउने शर्मा बताउँनुहुन्छ ।

अस्पतालमा उपचार र सुधारका काममा आएको गतिलाई स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले अनुगमन गरिरहेका छन् । “यस बीचमा प्रदेश र केन्द्रबाट पनि सरहरु आईरहनुभएको छ”, बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिक पोखरेलले भन्नुभयोे, “पहिलेभन्दा अहिले केही सहज भएको छ ।” उहाँहरु अस्पताल परिसरमा डुलिरहेकै बेला कोरोना परीक्षणको लागि अस्पतालको गेट नजिकै बनेको बुथबाट ¥यापिड डाईनोष्टिक टेष्ट भैरहेको थियो । कोरियन प्रविधिबाट बनाईको बुथ अन्य ठाउँका लागि नमूना बन्न सक्थ्यो ।

बुधबारनै पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीसहित समूहले अस्पतालको व्यवस्थापन र खटनपटनको विषयमा अवलोकन गरेको छ । “यहाँ कसरी व्यवस्थापन भैरहेको रहेछ भनेर हेर्न आएका हौँ”, पहाडीले भन्नुभयोे, “उपचार गराईरहेकी बहिनीसँग पनि कुराकानी गराउनुभयो, अवस्था सुध्रिएछ ।” उहाँले साविकको धौलागिरीका तीन जिल्लाले समन्वयात्मक तवरले काम गर्नुपर्ने बताउनुभयो ।

“नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो”, अस्पतालका डा. प्रदीप श्रेष्ठ भन्नुहुन्छ, “कोरोनाको सङ्क्रमण यहीँ देखिनु दुःखद् हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौँ ।” अस्पतालको आइसोलेसनमा अहिले बागलुङ नगरपालिका–४ की १९ वर्षीय युवतीको उपचार भैरहेको छ । चौथोपटक पठाईएको थ्रोट स्वाबको नतिजासमेत पोजेटिभ आएपछि पाँचौँ पटक स्वाब परीक्षणका लागि पठाईएको छ ।

“अब यी बिहिनीको पनि नेगेटिभ रिर्पोट आउनेमा आशावादी छौँ”, मेसु पोखरेलले भन्नुभयो, “लक्षण केही छैन, स्वास्थ्य पूर्णरुपले सामान्य छ ।” बिहिबारसम्म उहाँको नतिजा आउने पोखरेलले बताउनुभयो । बिरामीमा आएको सुधार र अस्पतामा भैरहेको सुधार दुवैले उत्साहित बनाएको चिकित्सकहरु बताउँछन् ।

चुनौतीका बीच खोप अभियान
विश्वव्यापीरुपमा फैलएको कोरोना भाइरस सङ्क्रमणको त्रासले रोकीएको नियमित खोप अभियान बागलुङमा शुरु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाबाट बालबालिकालाई नियमित खोप दिन शुरु गरिएको हो । गत चैत पहिलो सातादेखि बन्द भएको खोप अभियान बुधबारदेखि नै शुरु भएको हो । बुधबार ताराखोला गाउँपालिकामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । यो अभियान वैशाखभर जिल्लाका सबै स्थानीय तहमा जारी रहने छ ।

वैशाख १७ गते ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । बालबालिका जन्मेदेखि २ वर्षको उमेरभित्र सबै प्रकारका खोप लगाउनुपर्ने हुन्छ । एक महिनासम्म खोप अभियान नचल्दा धेरै बालबालिका नियमित तालिकाबाट वञ्चित भैसकेका भन्दै जिल्ला जिल्लाका दशवटै स्थानीय तहको संयुक्त बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बागलुङ जिल्लालाई सबै खोप पाएको जिल्लाको रुपमा घोषणासमेत भैसकेको थियो ।

समयमा खोप लगाउन नपाएमा बालबालिकाको शारिरीक र मानसिक विकासमा समेत असर गर्नेसँगै विभिन्न रोगले समात्ने समस्या आउनसक्ने भन्दै अभियानलाई निरन्तरता दिन लागिएको गुरौले बताउनुभयो । मंगलबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले पनि नियमित खोप अभियानलाई नरोक्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि तत्कालै ताराखोलामा खोप अभियान थालिसकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !