१५ बैशाख २०८१, शनिबार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठ दाउरा चोरी निकासीमा वृद्धि


काठ

काठमाडौँ, २४ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेसँगै राजधानीसँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठ दाउरा चोरी निकासी बढ्न थालेको छ ।

लकडाउन घोषणा हुनुअघिदेखि नै बजारमा ग्यासको अभाव भएपछि राजधानीको उत्तरी भेगमा रहेको निकुञ्जबाट दाउराका रुपमा रूख कटान गर्नेको सङ्ख्या बढेको हो । दुई हप्तामा दाउरा चोरिरहेको अवस्थामा १०० जनाभन्दा बढी मानिसलाई समातिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले राससलाई जानकारी दिनुभयो ।

लकडाउन शुरु भएपछि उपत्यकाबाट निकुञ्जका चोर बाटो हुँदै सिन्धुपाल्चोक, नुवाकोट र धादिङतिर मानिस बाहिरिँदा समेत चोरी निकासी वृद्धि हुने गरेको छ । केही मानिस भने लकडाउनका बेला वनभोज गर्ने भन्दै निकुञ्ज प्रवेश गर्दा समातिएका थिए । समातिएकामध्ये छजना अझै निकुञ्जको हिरासतमा रहेका उहाँले जानकारी दिनुभयो । धेरै मानिस हिरासतमा राख्दा रोगको सङ्क्रमण बढ्न सक्ने खतरालाई ध्यान दिएर १०० जनालाई अब चोरी निकासी नगर्ने कागज गराई छाडिएको छ ।

एकाबिहानै निकुञ्ज नजीकको बस्तीबाट भारीका भारी दाउरा बोकेका मानिस बाहिरिने गरेका स्थानीयवासी बताउँछन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल क्षेत्रको निकुञ्जमा हरियो बनिसकेको जङ्गल लकडाउनका बेला रातारात कटान भएको स्थानीयवासी सुशील सिम्खडाले जानकारी दिनुभयो ।

गोकर्णेश्वरका वडा नं १, २ र ३ ले निकुञ्ज छुन्छ । निकुञ्ज भएको क्षेत्रमा र निकुञ्जभित्र समेत बस्ती रहेकाले ग्यास अभाव हुँदा दाउरा खोज्न मानिस निकुञ्ज छिर्न थालेका छन् । लकडाउन शुरु भएपछि सुन्दरीजल र नयाँपाटीबाट मात्र ४० जना समातिएका निकुञ्जका सहायक संरक्षण अधिकृत सृजना श्रेष्ठले सुनाउनुभयो ।

केही मानिसले भने लकडाउनको मौका छोपेर निकुञ्जबाट दाउरा चोरी गरी बेच्ने गरेका छन् । दाउरा बेच्नेहरु राति जङ्गल छिरी बिहान भारीका भारी दाउरा ओसार्छन् । स्थानीय तहका जनप्रतिनिधि लकडाउनका कारण मर्कामा परेका मजदूर एवं विपन्न वर्गलाई राहत वितरणलगायत काममा व्यस्त भएकाले यसतर्फ ध्यान दिन नसकेको गोकर्णेश्वर १ का वडासदस्य आइतमान तामाङ बताउनुहुन्छ ।

निकुञ्जले सुकेका साना सिटामात्र दाउराका रुपमा लैजानेलाई नियन्त्रणमा लिँदैन । हतियार भने खोस्ने गरेको छ । हरियो रूख र सुकेका पनि ठूला मुढा काट्नेलाई काठसहित नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रियामा अघि बढाउने गरेको सहायक संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ गरी चार जिल्लामा फैलिएको निकुञ्ज क्षेत्रलाई १० स्थानीय तहले छुन्छ । काठमाडौँका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर र नागार्जुन नगरपालिकाले निकुञ्जलाई छुन्छ ।

सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका, नुवाकोटका शिवपुरी र ककनी गाउँपालिका एवं धादिङको धुनिबँेसी नगरपालिका क्षेत्रमा निकुञ्ज फैलिएको छ । शिवपुरी गाउँपालिकाको चिसापानी क्षेत्रमा निकुञ्ज छिरेर काठ दाउरा चोरी कमै भएको स्थानीयवासी सन्दीप लामाले सुनाउनुभयो । पर्यटकीयस्थलका रुपमा परिचित चिसापानीका अधिकांश होटल एवं स्थानीयवासीले ग्यास प्रयोग गर्ने गरेका छन् । ग्यासको आपूर्ति सहज भएन भने यता पनि निकुञ्ज छिरी काठ, दाउरा चोरी हुने खतरा बढ्छ ।

काठ दाउरा चोरी निकासी बढेसँगै निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नेपाली सेनाले संयुक्त गस्ती र पेट्रोलिङ बढाएको छ । निकुञ्जमा हाल नागार्जुन, गुर्जेभञ्ज्याङ, डाँडागाउँ, पानीमुहान, सुन्दरीजल र चिसापानी गरी छ स्थानमा स्थायी जाँच केन्द्र छन् । मणिचुड, झुले, नयाँपाटीलगायत स्थानमा बेलाबेलामा अस्थायी जाँच केन्द्र पनि राखिने गरेको जनाइएको छ ।

विसं २०५८ मा स्थापना भएको सो निकुञ्ज १५९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा ध्वाँसे चितुवा, आसामी बाँदर, सालकलगायत विविध जातका जीवजन्तु पाइन्छन् । राजधानीमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध गराउने यो क्षेत्र उपत्यकावासीका लागि महत्वपूर्ण छ । निकुञ्ज स्थापना हुनुअघि शिवपुरी जलाधार संरक्षणस्थलका रुपमा यसलाई विकास गरिएको थियो । निकुञ्जमा विभिन्न जातका जडीबुटीसमेत पाइन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !