२२ बैशाख २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैङ्क


moneyy

दमौली, २२ फागुन । तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् ।

प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् ।

ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ,” उहाँले भन्नुभयो, “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ ।

घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गनुभयो । “दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो,” उहाँले भन्नुभयो, “यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।” प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ ।

यसैगरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता वापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिनुभयो । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

बाटो बन्द
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग आजदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो । मानहुँकोट मार्ग कालोपत्रे गर्नका लागि निर्माण कम्पनी रानीवन कन्स्ट्रक्सन काठमाडौले तयारी थालेको छ । पहिलो चरणमा अप्ठ्यारो रहेको उक्त पहरामा ढलान गरिने र ढलान सम्पन्न भएपछि अन्य ठाउँमा कालोपत्रेको काम शुरु गरिने सो कम्पनीका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत निर्माण भइरहेको उक्त सडकको करीब चार सय मिटर भाग आरसीसी ढलान गर्न लागिएकोले उक्त मार्ग डेढ महीनाका लागि बन्द हुनेछ । उक्त मार्ग बन्द हुने बारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने बताउनुभयो । उक्त मार्ग बन्द भएपनि पैदलयात्रा मार्फत् मानहुँकोट जानेहरुलाई भने कुनै समस्या नरहेको उहाँले जानकारी दिनुभयो । “ढलान गर्न लागिएको ठाउँसम्म सवारीसाधनमै जान सकिन्छ, त्यहाँबाट १०/१५ मिनेटको पैदलयात्रा गरेर मानहुँकोट जानलाई अवरोध हुँदैन,” उहाँले भन्नुभयो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोट जाने कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास छ । अहिले सो स्थानमा दैनिक दुई/तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सो स्थानबाट आँखै अगाडी पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमो रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !