१० जेष्ठ २०८१, बिहिबार

ललिता निवास प्रकरणमा भाग्ने आशंका गरिएकालाई पक्राउ गर्ने तयारी


ललिता प्रकरण

५ फागुन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको कान्तिपुर दैनिकमा समाचार छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो ।

१० महिना लगाएर तयार पारेको छानविन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको हो । गृहले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतविरुद्ध ठगी , किर्ते र प्रचलित भ्रष्टाचार कानुनअनुसार अनुसन्धान गर्न माग गर्दै सीआईबीमा जाहेरी दिएको हो ।

सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार गृह मन्त्रालयका तर्फबाट परेको जाहेरीमा अब शून्यबाट अनुसन्धान अघि बढ्नेछ । उनले हिनामिना प्रकरणमा व्यक्ति–व्यक्तिको संलग्नता खुलाएर अनुसन्धान गर्ने र भाग्ने आशंका गरिएकालाई अदालतबाट पुर्जी लिएर पक्राउ गरिने बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ६ मा आरोपितहरुलाई पक्राउ गरेर वा नियरानीमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ । ‘सरकारी जग्गा व्यक्तिका नाममा लैजान को–को संलग्न भए, क–कसले त्यसमा सघाए र कसरी किर्ते र ठगी भयो भन्ने विषयमा सूक्ष्म रुपमा अनुसन्धान गर्छौं,’ पाण्डेले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !