२७ बैशाख २०८१, बिहिबार

कोरोना भाइरसका कारण नेपाली नागरिकलाई नेपाल ल्याउने तयारी गर्दै सरकार


नोवल कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको छ । एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्धार प्रक्रिया सुरु भएको हो । नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने चीनले जवाफ पठाएको छ ।

नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ ।

चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ । बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकलाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जाल ‘विच्याट’मार्फत प्रसार गरिएको छ ।

‘चीनमा नोबेल कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा नेपाल सरकारले हुबेई प्रान्तमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । विशेष विमान ल्याउने योजनामा गृहकार्य भइरहेको छ, चाँडै नै यसबारे जानकारी दिनेछौँ,’ दूतावासको सूचनामा भनिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !