१४ बैशाख २०८१, शुक्रबार

डा. केसीका सबै माग पूरा गर्नुपर्छ, सरकारले वार्ता टोली बनाओस् : डा. भण्डारी


काठमाडौं, २६ कार्तिक । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले डा. गोविन्द केसीले राखेका सबै माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डा. केसी अनशन बस्नुभएको आज आठौं दिन हो । उहाँले उठाउनु भएका सबै माग जायज छन् । सरकारले विलम्ब नगरी सबै माग पूरा गर्नुपर्छ ।’

सरकारले केसीले उठाएका माग पूरा गर्दै छिटो समाधान गर्नुपर्ने भण्डारीको भनाई छ । उनले भने,‘सरकारले डा. केसीको माग सम्बोधन गर्दा यसले सरकार, नागरिक र सरोकारवालाको हित हुन्छ ।’ भण्डारीले निजी मेडिकल कलेजहरु पनि नाफामुखी बन्न नहुनेतर्फ ध्यानाकार्षण गराए । ‘निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्नुपर्छ ।’–उनले थपे ।

निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढि शुल्क लिनु निन्दनीय भएको पनि उनको टिप्पणी छ । डा. केसीले राखेका मागहरुमध्ये एउटामात्रै माग पूरा गरेर नहुने भन्दै उनले सबै माग पूरा गर्नुपर्नेमा उनको जोड थियो । सरकारले डा. केसीसँग अविलम्ब वार्ता टोली बनाएर वार्ता तथा सम्वाद गर्नुपर्ने पनि उनको आग्रह छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !