१४ बैशाख २०८१, शुक्रबार

गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम


काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं.–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं. २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुने गरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत रु २१ करोडको लागतमा शहीद तथा युनेस्को सङ्ग्रहालय निर्माण गरिने छ । सङ्ग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने चीजबीज सङ्ग्रह गरिने राष्ट्रि«य शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

ग्राम अन्तर्गत जडिबुटी उद्यान निर्माण गरिने छ । विभिन्न किसिमका जडिबुटी नर्सरी राखी सामुदायिक वनमा व्यावसायिक रुपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुई अनुसार निर्माण हुने केन्द्रमा अरु देशले पनि लगानी गर्ने छन् ।

केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने जनाइएको छ । युनेस्कोका अरु सदस्य राष्ट्रलेसमेत लगानी र सहकार्य गर्ने गरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणको लागत रु ६२ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ग्राम निर्माणको सोच अघि बढेर बजेट व्यवस्थापन भएपछि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्माणस्थलको अवलोकन गरी काम अघि बढ्ने बताउनुभएको छ ।

निषेधाज्ञामा शहीद स्मारक निर्माणको काम
शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत काम शुरु भएर मन्त्रालय खारेजीसँग अलपत्र भएको राष्ट्रिय शहीद स्मारकको काम यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाकै बेला गति लिएको छ । शान्ति मन्त्रालय खारेजीसँगै आयोजना कुन मन्त्रालयमा जाने भन्ने विषयको टुङ्गो लाग्न दुई वर्ष लाग्यो । शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत काम गर्ने निर्णय भएको वर्ष आयोजनाका लागि बजेट नै नभएकाले काम हुन सकेन ।

विभागका इञ्जिनीयर दीपक साहका अनुसार शान्ति मन्त्रालयबाट आएका रुग्ण अवस्थामा रहेका पाँच वटा ठेक्काको सूचना जारी गरेर निर्माण व्यवसायीलाई काममा बोलाइएको थियो । पाँच वटा ठेक्कामध्येमा तीन सूर्य आरबी÷जनपद जेभी, बोखिम ÷शान्ति जेभी र डाँफे÷सुनौला÷खिम्ती जेभी काममा आएका छन् । यसमध्ये बोखिम÷शान्ति जेभीले गत वर्ष असारमै काम सकेको छ । सूर्य आरबी÷जनपदले ३६ वटा मूर्ति ढुङ्गाका राख्ने, रङ्ग लगाउनेलगायत काम बाँकी रहेकामा चालु आर्थिक वर्षको असारसम्ममा सक्ने काम गरिरहेको उहाँले सुनाउनुभयो ।

डाँफे÷सुनौला÷खिम्ती जेभीको पर्खाल लगाउने काम छ । डाँफेको काम पनि यो असारमा सकिने जनाइएको छ । सूचना प्रकाशन गरेपछि पनि चक्रेश्वरी निर्माण सेवा भने काममा समयमै फर्किएन । रु साँढे ती करोड र रु दुई करोड बराबरको दुईवटा ठेक्का चक्रेश्वरीले लिएको थियो । म्याद थपका लागि ढिला कागजात पेश गरेको आयोजनाले जनाएको छ । चक्रेश्वरीलाई कारबाहीका लागि कालो सूचीमा राखिएको छ । सार्वजनिक खरिद नियमावलीको नवौँ र दशौँ संशोधनले काम गर्ने अवसर दिएको अवधिमा पनि चक्रेश्वरीले काम नगरेको हो । तीन वटा रुग्ण आयोजनाका काम भने नियमावलीको संशोधनले दिएको मौकामा सम्पन्न भएको छ । शहीद स्मारक रु ४६ करोडको लागतमा निर्माण हुने गरी शुरु भएको आयोजना हो ।

आयोजनामा हाल भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत भएको छ । गत आर्थिक वर्ष बृहत् शहीद स्मारक निर्माण गर्न भनी सरकारले छुट्याएको रु एक करोडको काम पनि गोकर्ण शहीद स्मारकमै भइरहेको छ । आयोजना प्रमुख मचाकाजी महर्जन छिटो निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुहन्छ ।

यो वनमा नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णय अनुसार राणा शासनको अन्त्यदेखि मधेश आन्दोलसम्मका शहीदको स्मृतिमा स्मारक र निजामती कर्मचारीले शपथ लिने गरी निजामती स्मारक बनाउने निर्णय भएको थियो । पछि घुन्सा स्मृति स्मारक पनि यहीँ बनाउने निर्णय भएको थियो ।

स्मारक निर्माणपछि शहीद गेटमा रहेका चार शहीदका सालिक पनि गोकर्णमा स्थानान्तरण गरिने भन्ने प्रचारसमेत भएको थियो । २०६३ सालअघि प्रधानमन्त्री, मन्त्रीलगायतले शपथ ग्रहण गरेपछि यहाँ आएर शहीदको सालिकमा माल्यार्पण गर्ने गरेकामा हाल लैनचौरस्थित शहीद स्मारकमा जाने प्रचलन छ । चार शहीदका सालिक गोकर्ण सारेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतले शपथपछि शहीदलाई माल्यार्पण गर्न गोकर्ण जाने सरकारी निर्णय भए पनि स्मारक अलपत्र भएकाले पूरा हुन सकेको छैन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !