उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट Nepalpatra उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट
१८ फाल्गुन २०७७, मंगलबार

उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट


गुणराज सिलवाल

लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९ मत प्राप्त गर्नुभयो भने लामिछानेले एक हजार ४५ मत प्राप्त गर्नुभयो । सिलवाल सङ्घमा द्वितीय उपाध्यक्ष र लामिछाने महासचिवको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

त्यस्तै सङ्घको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै मृगेन्द्र घिमिरेले प्रगतिशील समूहका विकास श्रेष्ठलाई १५९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकै भरतकुमार श्रेष्ठले ३२२ मतले आफ्ना निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका भरतबहादुर विष्टलाईपछि पार्दै निर्वाचित हुनुभएको छ । तृतीय उपाध्यक्षमा कृष्णजङ्ग गुरुङ विजयी हुनुभएको छ ।

महिला सदस्यमा एक हजार २८७ र एक हजार १९५ मत ल्याएर क्रमशः आइसा मियाँ र मनु पन्त विजयी भएका छन् । खुला सदस्यमा शिवराम सिलवाल एक हजार २५२, सुरेशकुमार प्रधान एक हजार २८८ र प्रदीप बस्नेत एक हजार २७४ मतका साथ विजयी भएका छन् ।

कूल दुई हजार ६८४ मतदाता रहेकामा दुई हजार ४६७ मत खसेको थियो । शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार अपराह्न १ बजेदेखि शुरु भएको थियो ।

कञ्चनपुर– होटेल व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा जगदीशचन्द्र भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

सङ्घको १६औँ अधिवेशनमा अध्यक्ष भट्टको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । यस अघि सङ्घमा भट्ट पर्यटन उपाध्यक्ष रहनुभएको थियो ।

यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, महासचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा लोकबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा प्रकाश कुँवर, डम्बर ठकुल्ला, मोहनबहादुर सिंह, मीना शाह, मानसिंह ऐर, शिव भण्डारी र सागर बुढाऐर निर्विरोध निर्वाचित हुनुभएको छ । चार सदस्यपछि कार्यसमिति र अध्यक्षले मनोनित गरी समितिलाई पूर्णता दिने विधान छ ।

प्रशासन उपाध्यक्षमा सुशीलकुमार भट्ट र केशवसिंह धामीले उम्मेदवारी दिनुभएको छ । भट्ट सङ्घका निवर्तमान समितिका महासचिव हुनुहुन्छ । पर्यटन उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिनुभएको छ । पर्यटनका लागि महेश बोहरा र राजन टुकुरिया उम्मेदवार हुनुभएको छ । सचिवमा लोकराज पोखरेल र डम्बर खड्काले उम्मेदवारी दिनुभएको छ ।

आजसम्म उम्मेदवारी फिर्ता लिने समय तालिका बनाइएको छ । उम्मेदवारी फिर्ता नभए निर्विरोध हुन नसकेका सबै पदमा निर्वाचन हुनेछ । सङ्घमा अहिलेसम्म निर्विरोध नेतृत्व चयन हुँदै आएकाले त्यसका लागि पहल अघि बढेको छ ।

सङ्घमा ४०८ व्यवसायी मतदाता हुनुहुन्छ । नयाँसमितिको अध्यक्षमा निर्विरोध भएका भट्ट होटल गङ्गोत्रीका सञ्चालक हुन । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले शनिबार अधिवेशन उद्घाटन गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !