४ जेष्ठ २०८१, शुक्रबार

सेरीघाटको बेलिब्रिज जीर्ण


बेलिब्रिज

मान्म । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा अवस्थित तिला नदीको बेलिब्रिज जीर्ण बनेको छ । जडान भएको लामो समयसम्म मर्मत नहुँदा जीर्ण बनेको हो ।

कालीकोट र जुम्लामा सवारी साधन पु¥याउन १५ वर्ष अगाडि सो नदीमा बेलिब्रिज जडान गरिएको थियो । स्थानीय पदम विष्टले भन्नुभयो, “ बेलिब्रिजको संरक्षण पनि छैन । मर्मत पनि छैन । कति बेला भत्किने हो पत्तो छैन ।”

कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाको बीचमा सो बेलिब्रिज जडान गरिएको थियो । जडान गर्दा २४ टन भारबहन क्षमता लेखिएको थियो । रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले पुलमा अहिले पनि ठूलठूला मालबाहक सवारी साधन नियमित रुपमा चल्ने गरेका बताउनुभयो ।

पुलको दुवैतिरबाट वर्षात्को भलसमेत नतर्काउँदा बाढीले बगाएर ल्याएको माटोले पुल जोखिम समेत बढाएको छ । पुलमा किलाकाटा खिया लागेका छन् । यसतर्फ सडक विभाग, पुल क्षेत्रमै कालोपत्रे गर्ने निर्माण व्यवसायी र सरोकारवाला कसैले पनि ध्यान नदिएको स्थानीयको भनाइ छ ।
“ पुलको १० देखि १५ वर्षसम्म मात्र समयावधि हुन्छ । संरक्षणको अभावमा खियाले फलाम छिटो कमजोर हुने हँुदा यसको आयु घट्दै गएको छ ।” अध्यक्ष बमले भन्नुभयो, “अर्को पक्की पुल निर्माण प्रक्रियासमेत सरकारी तवरबाट थालिएको छैन ।”
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !