१४ बैशाख २०८१, शुक्रबार

सदरमुकाम चैनपुरमा खानेपानीको समस्या


खानेपानी

बझाङ, ८ साउन । सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । दिनको एक पटक आउने पानी एक हप्तादेखि नआएपछि समस्या उत्पन्न भएको छ । बिहानबेलुका आउने खानेपानी एक हप्तादेखि नआएपछि आफूहरु बिहान उठ्नेबित्तिक्कै भाँडाकँुडा बोकेर सेतीनदी जाने गरेको स्थानीयवासी रुमला कठायतले बताउनुभयो ।

खानेपानी नआउँदा खाना पकाउन, नुहाउन र भाँडाकुडा धुन समस्या भएको तथा फोहर पानीसमेत खानुपर्ने बाध्यता रहेको कठायतले बताउनुभयो । लकडाउन खुलेसँगै बजारतिर आएका डेरावालालाई पनि थप समस्या हुने गरेको छ । होटल व्यवसायी पुतली लामाले भन्नुभयो, “धारामा पानी नआउँदा आधा घण्टा हिँडेर, त्यही पनि पालो कुरेर ल्याउने गरेका छौँ ।”

खानेपानी नआएपछि होटलमा भाडाँकुडा धुन र शौचालयमा प्रयोग गर्नसमेत समस्या भएको छ । “त्यति मात्रै नभएर कोठामा पानी नआएको हप्ताँै भइसक्यो, सेतीबाट पानी ल्याएर कहिलै बिहान त कहिले बेलुका खाना खाने गरेका छौँ”, सदरमुकाममा बस्दैआउनुभएका शिवम रोकायाले भन्नुभयो । यता लगातारको बर्खाले खानेपानीका मुहान र ठाउँठाउँमा पाइप बगाउँदा तथा पहिराले क्षति पु¥याउँदा खानेपानी वितरणमा समस्या भएकाले केही दिनभित्रै मर्मत गरी सबै लाइनमा वितरण गरिने चैनपुर खानेपानीका उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो ।

जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले भन्नुभयो, “पहिरोले खानेपानीको पाइप बगाउँदा उपभोक्ता मारमा परेकाले खानेपानी उपभोक्ता समितिलाई छिटोछरितो मर्मत गरी पानी सञ्चालन गर्नका लागि मैले बेलाबेलामा भेटेर भन्दै आएको छु । वर्षात् कम हुनेबित्तिकै केही दिनमा पानी नियमित सञ्चालनमा आउने छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सन्दीप ओखेडाले नदीको पानी शुद्धीकरण गरी खाए केही नहुने तथा उमालेर नखाएमा झाडापखाला, टाइफाइडजस्ता पानीजन्य रोग लाग्ने समस्या हुन सक्ने उहाँले बताउनुभयो । खानेपानी नहँुदा सदरमुकामका झण्डै दुई हजार बासिन्दा मारमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !