१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्‍त्री ओली अस्पतालबाट डिस्चार्ज


प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज

मंसीर १९, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसीर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डिस्चार्ज भएका हुन्।

अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे । उनी केही बोलेनन् । ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताए।

श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन् । उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनेछन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघाटमा सहभागी नभई आराम गर्नेछन् त्यसपछिमात्र मात्र प्रधानमन्त्रीज्यू अन्य क्रियाकलापमा सहभागी हुनेछन् । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !