१४ बैशाख २०८१, शुक्रबार

हेलिकाेप्टर दुर्घटना : मन्त्री अधिकारीसहित सबैकाे निधन


हेलिकाेप्टर दुर्घटना

१५ फागुन, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे। फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि मृतकमध्ये ५ जनाकाे शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराकाे नजिक रहेकाे छ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितकाे उद्धार टाेली पुग्दै गरेकाे उनले बताए । हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ । ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटनाकाे विमानस्थल कार्यालयले समेत पुष्टि गरेकाे छ ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ७ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक तथा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !