११ जेष्ठ २०८१, शुक्रबार

टेलिकमको प्याकमा नयाँ अफर, वाइम्याक्समा प्रमोसनल अफर लागू


Nepal-Telecom-central-office-Ntc-offer-750x430

१ असोज, काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।

आज असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने छ ।

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ ।

यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।

असोज १ देखि १५ गतेसम्म कर सहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !