१९ बैशाख २०८१, बुधबार

मस्यौदा समितिको कार्यविधि स्वीकृत


Nepali-congress-Centre-office-Sanepa

१२ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा काङ्ग्रेस कार्यसमिति, सङ्घीय संसदीय दल र काङ्ग्रेस प्रदेशसभा संसदीय दलबाट लिखित रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

पार्टीनिकट सबै भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाहरु र विदेशस्थित सबै जनसम्पर्क समितिबाट यही भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

काङ्ग्रेसले पार्टीका सदस्य, मतदाता, शुभेच्छुकलगायत सर्वसाधारण सबैबाट विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा रायसुझाव पठाउन अनुरोध गरेको छ ।

काङ्ग्रेसको यही भदौ ९ गतेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । पार्टीले महासमितिको बैठकबाट पार्टीको विधानलाई समसामयिकरुपमा परिमार्जन गर्न भदौ ७ गते महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !