४ जेष्ठ २०८१, शुक्रबार

महिला हिंसाका घटना बढ्दो


chori

११ साउन, काठमाडौँ ।  गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस महिनामा अन्य प्रकृतिका हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट हिंसा भएको पाइएको छ । त्यस्तै ३४ प्रतिशत छिमेकी र १२ प्रतिशत परिवारका सदस्यबाट हिंसा भएको प्रतिवेदनमा उल्लेख छ ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समूहका २९ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिका रहेका छन् ।

प्रभावितमैत्री न्याय प्रणाली नहुनु, कानूनको प्रभावकारी कार्यान्वयन तथा पीडकलाई कडा कारबाही नहुनुले बलात्कार र बलात्कारपछिको हत्याका घटनाहरु शृङ्खलाबद्ध रुपमा बढिरहेको आरेकका कार्यक्रम निर्देशक अभिराम रायको भनाइ छ ।

गत आर्थिक वर्षमा बलात्कारका २८८ घटनामा १४ जनाको बलात्कारपछि हत्या भएको तथ्याङ्क ओरेकले अभिलेखीकरण गरेको छ । पछिल्लो समयमा अबोध बालिका बलात्कृत र बलात्कारपछि हत्या गर्ने शृङ्खला बढ्दो छ । सडकदेखि सदनसम्म पीडकलाई जन्मकैददेखि फाँसीसम्मको सजाय हुनुपर्ने आवाज पनि उठिरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !