२२ बैशाख २०८१, शनिबार

रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि


Minister Pokharel_Photo secretariat of Minister Pokharel

४ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेपालस्थित भारतीय दूतावासमा पुगी  उहाँले नेपाल सरकारका तर्फबाट स्व बाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले बाजपेयीलाई उच्च व्यक्तित्वका धनी र देशभक्त नेताको रूपमा विश्व जगत्ले सम्झिरहने उल्लेख गर्नुभएको प्रेस संयोजक केसीले बताउनुभयो । “विश्वका जनताले उच्च व्यक्तित्वका धनी, वाक क्षमता भएको, देशभक्ति र सुदूर दृष्टिकोण भएका नेताका रुपमा बाजपेयीको योगदानलाई चिरकालसम्म सम्झिरहने छन्” शोक पुस्तिकामा उहाँले लेख्नुभएको छ ।

सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतका बीच विकसित द्विपक्षीय सम्बन्धलाई लामो समयसम्म स्मरण गरेकोसमेत शोक पुस्तिकामा उपप्रधानमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । नेपाल सरकार र व्यक्तिगततर्फबाट स्व बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्ति गर्दै उहाँले सरकारका तर्फबाट शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गर्नुभएको छ ।

सरकारले यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उहाँको अन्त्यष्टिमा समारोहमा सहभागी हुन भारत जानुभएको थियो । निष्ठावान् राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय बाजपेयीको बिहीबार निधन हुनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !