१४ बैशाख २०८१, शुक्रबार

राससमा आमूल परिवर्तनको खाँचो छ : अध्यक्ष श्यामल


rss

१ भदौ, बाँके । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको नीतिगत र व्यवस्थापकीय कमजोरीलाई हटाएर पुनःसंरचनामा लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेको समन्वयमा रासस प्रदेश ५ नेपालगञ्ज कार्यालयले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष श्यामलले राससमा आमूल परिवर्तनको खाँचो रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पुनःसंरचना, पुनःव्यवस्थित र विकेन्द्रीकृत संरचनामा लैजानुपर्नेछ, यसका लागि मैले काम शुरु गरिसकेको छु । एक वर्षभित्र सकारात्मक परिवर्तनको महसुश हुनेछ ।” उहाँको थप भनाइ थियो, “अब राससलाई कुनै दल विशेषको संस्था हुन दिइने छैन ।”

‘‘राससमा दक्ष र क्षमतावान् जनशक्ति हुँदाहुँदै पनि अहिले संस्था शिथिल देखिएको छ । यसलाई स्रोतसाधन सम्पन्न बनाउँदै स्वस्थ बनाउने अभियानमा लागिसकेका छौँ,” अध्यक्ष श्यामलले भन्नुभयो, “यसका लागि पहिलो काम ऐन संशोधन गरी कार्यान्वयन गर्नु नै हो । हामी संशोधनको प्रक्रियामा गइसकेका छौँ ।”

उहाँले आफ्नो दायरालाई फराकिलो बनाउँदै क्षमता र व्यावसायिकताका आधारमा रासस अघि बढ्ने अठोट पनि व्यक्त गर्नुभयो । राससका भौतिक संरचनाहरु जीर्ण छन्, व्यवस्थापन कमजोर छ, नीति पुरानै ढर्राको रहेको अवस्थामा परिवर्तनको खाँचो रहेको उहाँको भनाइ छ । “राससको पुनःसंरचना चुनौतीपूर्ण छ, मैले यसलाई अवसरका रुपमा लिएको छु,” अध्यक्ष श्यामलले भन्नुभयो ।

छलफलमा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले सरकारी लगानीको सञ्चार संस्था राससलाई जनमुखी, गुणस्तरीय र समयसापेक्ष बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का महासचिव भेषराज बस्नेतले राससका समाचार राजनीति केन्द्रित हुँदै गएको भन्दै सामाजिक तथा आर्थिक विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षमा भएको कार्यक्रममा महासङ्घ प्रदेश नं ५ का केन्द्रीय सदस्य शिव सुनार, पत्रकारहरु कृष्ण अधिकारी, अछरी पोखरेल, कमल केसीलगायतका वक्ताहरुले राससको गरिमा जोगाइराख्न सुधारसहितको योजना आवश्यक भएको धारणा राख्नुभयो ।

कार्यालय निरीक्षण 

यसैबीच अध्यक्ष श्यामलले प्रदेश नं ५ रासस कार्यालय नेपालगञ्जको आजै निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा उहाँले राससलाई अब युग सुहाउँदो समाचार संस्थाका रुपमा रुपान्तरण गर्न सबै राससकर्मीहरुले कम्मर कस्नुपर्ने बेला आएको छ भन्नुभयो ।

अध्यक्ष श्यामलले देशभरका राससका भौतिक संरचनाहरुको पुनःनिर्माणसँगै उपयोगका विषयमा अध्ययन भइरहेको बताउनुभयो । “राससमा छलछाम, अल्छी र जागिरे प्रवृत्ति अब क्षम्य हुन सक्दैन, मेहनती, इमान्दारहरु पुरस्कृत हुन्छन्, बदमासी गर्नेहरुलाई सजाय गरिनेछ,” उहाँको भनाइ थियो ।

त्यस अवसरमा अध्यक्ष श्यामललाई रासस प्रदेश नं ५ नेपालगञ्ज कार्यालयका प्रमुख नीरज गौतमले नेपालगञ्ज कार्यालयको वस्तुगत अवस्थाका विषयमा जानकारी गराउनु भएको थियो । अध्यक्ष श्यामल नेतृत्वको निरीक्षण टोलीमा रासस प्रदेश सहसंयोजक प्रकाश सिलवाल र प्रदेश नं ५ का प्रमुख भरत केसीको सहभागिता थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !