२३ बैशाख २०८१, आइतबार

भेरी–बबई डाइभर्सनको सुरुङमार्ग समयमै सकिने


Veri-Babai-Mechine-e1515666534651

२२ साउन, बाँके ।  भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ ।
निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो ।
veri babai
निर्माणकर्ता चाइना ओभरसियस इञ्जिनियरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिओलजिकल सर्भेमा छिन्चु नजिकैको तोली खोलामा जोखिम देखिएको थियो । त्यो क्षेत्रबाट उक्त उपकरण अघि बढेपछि अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ ।”

उहाँका अनुसार दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिएको छ । सात महिनामा उक्त उपकरणले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । हालसम्म छ हजार ३५० मिटर सुरुङ खनिएको छ । सो उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भन्नुभयो, “आयोजना समयमै बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सम्पन्न भयो । रेडजोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो । ”

रेडजोनकै कारण सुरुङ निर्माण सफल हुने नहुनेमा आशंका देखिएपछि आयोजनाले पावरहाउस र बाँध निर्माण प्रक्रिया शुरु नै नगरेको प्रशासन प्रमुख शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जोखिम मानिएको काम सफल भएपछि आयोजनाले पावरहाउस र बाँध निर्माणलगायतका अन्य काम पनि धमाधम अघि बढाउने भएको छ ।”

आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिकरण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थाल्ने जनाएको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

आयोजना प्रमुख बस्नेतले भन्नुभयो, “जोखिमपूर्ण मानिएको क्षेत्र पार भइसकेको छ, अब पावरहाउस र हेडवक्र्सको काम अघि बढाउन कागजात बनाउने काम भइरहेको छ ।” विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा पावरहाउस बनाउनका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको छ ।

भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेडजोनका रूपमा लिएका थिए ।
यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पु¥याउने आशंका गरिएको थियो ।

सात महिनाअघि परम्परागत हिसाबले ब्लाष्टिङ गर्दै सुरुङ खन्न थालिएको थियो । टिबिएमले सुरुङ खन्न थालेपछि दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो, हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ ।

सात महिनामा टिबिएमले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । सुरुङ निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० नेपाली मजदूर संलग्न छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !