४ जेष्ठ २०८१, शुक्रबार

समृद्धि हुँदै समाजवादको यात्रा : प्रधानमन्त्री ओली


KP oli

१६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ ।

विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताउनुभयो ।

उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !