४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि अाज भारत लैजाने


Madav Ghimire

९ जेठ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि अाज भारत लैजाने तयारी गरिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उहाँले बताउनुभयो ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताउनुभयो ।

“हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार ग¥यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ”–उहाँले भन्नुभयो, “साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।” उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उहाँले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताउनुभयो । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उहाँलाई भारत लैजाने तयारी गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !