१४ बैशाख २०८१, शुक्रबार

पर्यटनमन्त्री किरातीद्वारा एकाबिहानै त्रिभुवन विमानस्थलको अनुगमन


सुदन किराती त्रिभुवन विमानस्थल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गरेका हुन् ।

तेस्रोपटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गरे । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ ।

यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताउनुभयो । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उहाँले बताए । उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन । तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !