१४ बैशाख २०८१, शुक्रबार

घनश्यामको प्रतिवेदन : वाममोर्चा बने दुई तिहाइ बहुमत आउने


घनश्याम भुसाल,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता घनश्याम भुसालले आगामी निर्वाचनमा वाममोर्चा बनाएर गए संघीय संसद्को प्रत्यक्षतर्फको १६५ मध्ये १५० सिटसम्म जित्न सकिने प्रतिवेदन पेस गरेका छन् । स्थायी कमिटी बैठकमा आफ्नो प्रस्ताव सहित उनले यस्तो प्रतिवेदन पेस गरेका हुन् ।

सो प्रतिवेदनमाथि भने पार्टीभित्र कुनै छलफल नभएको जनाइएको छ । भुसालले ‘नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनःस्थापनाका लागि प्रस्ताव’ नामक प्रतिवेदन पेस गरेका हुन् ।

राजनीतिक विश्लेषकका रूपमा चिनिएका नेता भुसालका अनुसार स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सकिन्छ। ‘त्यसको अर्थ संसद्मा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिस्ट पार्टीले गुमाउने कुरा छर्लंग छ ।

कम्युनिस्ट पार्टी विभाजित हुने र नेपाली कांग्रेसले एमालेविरुद्व कम्युनिस्ट पार्टीहरूलाई नै प्रयोग गर्ने अवस्था देखिँदैछ । त्यसो भए आगामी निर्वाचनमा मात्रै होइन, कम्युनिस्ट पार्टी र आन्दोलनलाई धेरै पछिसम्म असर गर्नेछ। यसलाई कुनै बहानाबाजीले ढाकछोप गर्न सक्दैन,’ भुसालले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

उनले वाम वर्चस्व पुनःस्थापना गर्ने काम सबैभन्दा महत्त्वपूर्ण रहेको ठहर गरेका छन्। उनले यो काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने हुँदा त्यसको पहलकदमी लिन पार्टी पंक्तिलाई आग्रह गरे। ‘फेरि वाममोर्चा वा एकताको पहल गर्दा यसभन्दा पहिलेको एकता किन टिक्न सकेन भन्ने कुरा हामीले दुनियाँलाई बताउनुपर्छ । आरोपप्रत्यारोपका लागि अनेकौं मुद्दा छन् तर एकताको प्रक्रियामा त्यो गम्भीर त्रुटि थियो ।

जतिसुकै जिम्मेवार भए पनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने अभियान दिगो र फलदायी हुँदैनन्। त्यस एकता प्रक्रिया मूलतः दुईजनालाई जिम्मा लगाएर वा दुई जनाले जिम्मा लिएबाटै विभाजनको बिउ रोपिएको थियो। त्यस कमजोरीले अरू घटनालाई जन्मायो। हामीले त्यसबाट शिक्षा लिनुपर्छ। प्रथमतः यस विषयमा हामी स्पष्ट हुनुपर्छ,’ उनले प्रस्तावमा भनेका छन् । यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !