६ जेष्ठ २०८१, आइतबार

काकाकुल छन् सरकारी धाराचोकका स्थानीयवासी


२३ वैशाख, काठमाण्डौ । ठाउँको नाम सरकारी धाराचोक भए पनि खानेपानी नपाएर त्यहाँका बासिन्दा काकाकुल बनेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अत्तरखेलमा रहेको सरकारी धाराचोकको सरकारी धारा तीन वर्षअघि सवारी साधनको ठक्करले भत्कियो । गोकर्ण ब्यारेजबाट गुह्येश्वरी फाँटमा सिँचाइका लागि पानी ल्याइएको राजकुलाको छेउमा पञ्चायतकालमै धारा बनाइएको थियो ।

यो धारा हुँदा घरमा धाराबाट पानी नआउनेले पनि पानी थाप्न पाएका थिए तर धारा भत्केपछि खानेपानी नपाएर पानीकै लागि भौँतारिनु परेको स्थानीय दीपक बस्नेतले गुनासो गर्नुभयो ।

सुन्दरीजलबाट ल्याइएको पानी सार्वजनिक धाराका रुपमा राखेपछि धेरै स्थानीयवासीले सुविधा पाएका थिए । धारा बिग्रँदै गएपछि कसैले मर्मत नगरेको र जीर्ण बनेको धारालाई गाडीले सामान्य ठक्कर दिँदा भत्किएको स्थानीय सडक सुधार समितिका अध्यक्ष टेकबहादुर बस्नेतले बताउनुभयो ।

धारा किनारको १६० मिटर दूरीको सडक कालोपत्र गर्न चार वर्ष लागेको उहाँको गुनासो थियो । “नगरपालिकाले प्रत्येक वर्ष रु तीनदेखि चार लाख बजेटमात्र छुट्याउँछ, तर पनि छोटो दूरीको सडक कालोपत्र गर्न चार वर्ष कुर्नुप¥यो । ”–उहाँले भन्नुभयो ।

राजकुलामा बनेको सडकको यो हालत छ भने भत्किएको धारा पुनःनिर्माणमा पनि कसैले ध्यान नदिएकामा स्थानीयवासी असन्तुष्ट छन् । गोकर्णेश्वर नगरपालिका वडा नं –८ का अध्यक्ष मनोज ढुँगाना भने सुन्दरीजलबाट पानी आउन छोडेपछि धारा पनि बन्द भएकाले सरकारी धारा हराएको बताउनुभयो ।

उपत्यकामा थोरै घर हुँदा बनेका सरकारी धारा जनघनत्व बढेसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भत्काएको थियो । घर बढेसँगै उपत्यकाका धेरै घरमा लिमिटेडको धारा जोडिएको छ तर ती धारामा पानी होइन हावा आउने गरेको उपभोक्ताको भनाइ थियो । सरकारी धाराले पानीको महसुल पनि नतिर्ने भएकाले लिमिटेडलाई आर्थिक भार समेत थियो ।

लिमिटेडका प्रवक्ता सुरेश आचार्य खानेपानी संस्थान कम्पनीमा गएपछि विसं २०६४ फागुन १ गतेपछि सार्वजनिक धारा जडान नगरिएको उल्लेख गर्नुभयो “संस्थान हुँदा उपत्यकामा एक हजार १९६ धारा वितरण गरिएको थियो, त्यसबेला अर्थ मन्त्रालयले सार्वजनिक धाराको महसुल तिथ्र्यो, कम्पनीमा गएपछि स्थानीय सरकारले तिर्ने भनेपनि अहिलेसम्म महसुल बुझाएका छैनन्”–उहाँले भन्नुभयो ।
अब कतै सार्वजनिक धारा राखिए स्थानीय तहले नै महसुल तिर्नुपर्ने लिमिटेडले जनाएको छ । (-पूर्णप्रसाद मिश्र /रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !