२० बैशाख २०८१, बिहिबार

ग्राहक पहिचान विवरण नविकरण नगर्नेले सेयर कारोबार गर्न नपाउने


KYC

२१ वैशाख, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (KYC) नविकरण नगराउने लगानीकर्तालाई सेयर कारोबारमा संलग्न नगराउन सेयर दलाल व्यवसायीलाई निर्देशन दिएको छ । बोर्डले वैशाख मसान्तभित्रमा ग्राहक पहिचान विवरण नविकरण नगराउने ग्राहकलाई सेयर कारोबारमा संलग्न नगराउन भनेको हो ।

बोर्डको निर्देशन भन्दै सेयर दलाल व्यवसायीहरुले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण नविकरण गर्न आग्रह गरेका छन् । यसै क्रममा आर्यतारा सेक्युरिटज प्रालीले सक्कली नागरिकता सहित आफ्नो कारोबार खाता नविकरण गराउन लगानीकर्तालाई आग्रह गरेको छ ।

आर्यताराका प्रबन्धक गुणनिधि भुषालले बोर्डको निर्देशन अनुसार ग्राहक पहिचान विवरण नविकरण गराउने काम भइरहेको जानकारी दिए । बोर्डले दिएको समय सीमा नजिकिएकाले लगानीकर्ताललार्इ पुन: सू-सूचित गरिएको मात्र हो । सबै सेयर दलाल व्यवसायले नविकरणको काम गरिरहनु भएको छ । यसअनुसार धेरैजसो लगानीकर्ताले नविकरण गराईसकेको छन् ।

धितोपत्र बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन ’सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्दे्शिका’ लाई थप सृद्धढ बनाई गत बैशाख १ गतेदेखि लागू गरेको थियो । जसमा सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार बोर्डले बैशाख मसान्तभित्र ग्राहकहरुको पहिचान विवरण (केवाईसी) नविकरण गराउन निर्देशन दिएको बोर्डका सहायक-प्रवक्ता निरन्जय घिमिरेले बताए । हामीले कारोबार नै रोक्न चाहि भनेका छैनौ, वैशाख महिनाभरि ग्राहक पहिचान विवरण नविकरण गराउन भनेका छौ । घिमिरेले भने ।

कारोबार खाता नविकरण गराउन नागरिकताको प्रतिलिपि, एक थान फोटो, आफ्नो खाता रहेको बैंकको नाम र नम्बर, प्यान कार्डको प्रतिलिपी, कर्मचारी भएमा कर्मचारी परिचयपत्रको प्रतिलिपी र नावालकको हकमा संरक्षक तथा नावालक दुवैको फोटो, नावालकको जन्मदर्ता र संरक्षकको नागरिकताको प्रतिलिपी लिएर आफुले कारोबार गर्ने सेयर दलाल व्यवासयीकोमा जानुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !