५ जेष्ठ २०८१, शनिबार

अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेटमा प्रदेश नम्बर ७ च्याम्पियन


Cricket Champion

१९ वैशाख, काठमाण्डौ । प्रदेश नम्बर ७ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा २ नम्बर प्रदेशलाई २४ रनले हराउदै ७ नम्बर प्रदेश च्याम्पियन बनेको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ७ नम्बर प्रदेशले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको २ नम्बर प्रदेशले पुरै ३० ओभरमा ९ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । २ नम्बरका अमित यादवले ८० रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै २ नम्बरका तृत राज दासले २७ तथा साहिल पटेलले २५ रन जोडे । ७ नम्बरका मनोज लोथ्यालले ५ विकेट लिदा नरेन्द्र सावदले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ७ नम्बर प्रदेशले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर २०८ रन जोडेको थियो । ७ नम्बरका लागि राहुल भण्डारीले ३८ तथा रोशन सावदले अविजित ३७ रन जोडे ।  त्यस्तै हृदय बिथारीले ३३ रन जोड्दा नरेन्द्र सावदले अविजित २० रन जोडे । २ नम्बरका विवेक यादबले ४ विकेट लिए ।

उपाधिसंगै प्रदेश नम्बर ७ ले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र क्रिकेट खेल सामग्री प्राप्त गरे  । उपविजेता बनेको २ नम्बरले १ लाख ५० हजारसहित क्रिकेट सामग्री प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी २ नम्बरमा विवेक यादब घोषित भए । उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्याट्सम्यान २ नम्बरका अमित यादब र उत्कृष्ट बलर ७ नम्बरका नरेन्द्र सावद घोषित भए । दुवैले ट्रफीसहित समान ५ – ५ हजार नगद प्राप्त गरे । यस्तै उत्कृष्ट फिल्डर बब्नेका ७ नम्बरका हृदय बिथारी र उत्कृष्ट विकेटकिपर ७ नम्बरकै राजन सिंहले ट्रफी हात पारे ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेशको ७ टिमको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !