४ जेष्ठ २०८१, शुक्रबार

एकदिने घुम्ती साहित्य महोत्सव हुँदै


Fine Print

१३ वैशाख, काठमाण्डौ । प्रकाशक फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’आयोजना गर्दै छ । महोत्सव पहिलो चरणमा सुर्खेत (वैशाख १५), धनगढी (वैशाख १७) र कोहलपुर (वैशाख १८) मा हुने फाइनप्रिन्टले जनाएको छ ।

काठमाण्डौमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गराउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् । ‘फाइनप्रिन्टले आफ्नो स्थापनाकालदेखि नै नेपालमा पठन संस्कृतिको विकासका लागि काम गर्ने कोसिस गरिरहेको छ,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यसपटकको महोत्सव पनि त्यसैको एउटा प्रयास हो ।’

महोत्सवमा सहभागी हुने मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहले पनि यस किसिमका महोत्सवले लेखक र पाठकबीचको सम्बन्धमा न्यानोपन ल्याउन सघाउ पुर्‍याउने उनले बताए । ‘प्रहरी सेवामा जागिरे भएका कारण समयसमयमा विभिन्न ठाउँमा पोस्टिङ हुने भएकाले मैले पहिलेका साहित्यिक कार्यक्रम/महोत्सवमा सहभागी हुने अवसर पाएको थिइनँ,’ उनले भने, ‘तर म पहिलोपटक फाइनप्रिन्ट फिभरमा सहभागी हुँदै छु । पाठकसँगको साक्षात्कारका लागि म उत्साहित छु ।’

‘फाइनप्रिन्ट फिभर’को दोस्रो चरण जेठमा हुने प्रकाशक फाइनप्रिन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !