२१ बैशाख २०८१, शुक्रबार

इलाममा वैदेशिक रोजगारसम्बन्धी परामर्श अभियान सम्पन्न


२७ चैत, इलाम । इलाममा आठ हजार भन्दा बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको छ । एक वर्ष ५ महिनाको अवधिमा घरदैलो अभियान नै सञ्चालन गरेर ८ हजार ५ सय ६५ जनालाई परामर्श दिइएको हो ।

जिल्लाका विभिन्न साविकको १० गाविसका वैदेशिक रोजगारीमा जान चाहाने, वैदेशिक रोजगारबाट नेपाल आएका, ट्रेड युनियन कर्मी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि ,सम्बन्धित सरकारी कार्यालयका कर्मचारी, सरोकारवालालगायतलाई परामर्श दिइएको हो ।

यस्तै, १ सय ८२ महिलासहित ३ सय ६० जना ट्रेड युनियनकर्मीलाई श्रमिकको क्षमता विकास तालिम, विभिन्न पार्टीका प्रतिनिधिहरु ४२ महिला र ३८ पुरुषसहित ८० जनालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी कार्यमा आफ्नो दायित्वबोध गराउने तालिम दिइएको छ ।

जिल्लामा सबै भन्दा बढी महमाई र सबै भन्दा कम फिक्कलबाट वैदेशिक रोजगारीका लागि नेपाली युवा खाडी मुलुक जाने गरेको तथ्यांक छ ।

वैदेिशक रोजगारमा जाँदा हुने सम्भावित जोखिमबाट बच्न, विभिन्न सम्बन्धित संघसंस्था, सरकारी कार्यालयलाई आफ्नो काम कर्तव्य र जिम्मेवारीबारे जानकारी गराउन जरुरत भएकाले परामर्श कार्यक्रम सञ्चालन गरिएको नेपाल ट्रेड यूनियन कांग्रेस जिल्ला समिति इलामका अध्यक्ष हरीनाथ फुयाँलले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति इलाम स्थापना गरी २०७३ जेठबाट सुरक्षित वैदेशिक रोजगार परमर्श कार्यक्रम सञ्चालन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !