१४ बैशाख २०८१, शुक्रबार

सिन्डिकेट तोड्न सरकारले गरेको प्रयास स्वागतयोग्य : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा

२२ चैत, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यातायात सिन्डिकेट तोड्न सरकारले गरेको प्रयासको स्वागत गरेको छ । नेपालमा वर्षौंदेखि यातायात क्षेत्रमा सीमित व्यवसायीले चलाउँदै आएको सिन्डिकेट तोड्न सरकार आक्रामक रूपमा प्रस्तुत भएपछि प्रतिपक्षी कांग्रेसले त्यसको समर्थन गरेको हो ।

सरकारले चाल्ने राम्रा कामलाई सबैको समर्थन आवश्यक रहेको पनि कांग्रेसले जनाएको छ । लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा निजी क्षेत्रमा कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कार्यलाई ग्राह्य दिन नहुनेमा पनि कांग्रेसले जोड दिएको छ ।

सरकारले काठमाडौं–बनेपा रुटमा यातायात सिन्डिकेट तोड्दै बुधबार साझा यातायात सञ्चालन गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्विट गरेर त्यसको स्वागत गरेका छन् । ‘राम्रो कामको समर्थन जरुरी ! यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ । काठमाडौं–धुलिखेलपछि अब ‘राज्य’भर विस्तारित हुनुपर्छ । लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य या निजी क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न !!’’ प्रवक्ता शर्माले लेखेका छन् ।

काठमाडौं–बनेपा रुटमा सिन्डिकेट चलाउँदै आएका ११ स्थानीय व्यवसायी समितिले बुधबार सेवा रोकेपछि सरकारले नयाँ व्यवसायीलाई सेवा सुरु गर्ने अवसर दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !