२३ बैशाख २०८१, आइतबार

बाढीका कारण बस्ती डुबानमा


झापामा बाढीले घर डुबानमा

गण्डकी । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिनुभयो ।

आफूहरूले यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पनि जानकारी गराएको उहाँले बताउनुभयो । तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उहाँले बताउनुभयो । बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवं नवीन टोलमाथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पक्की बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार बाढीका कारण स्थानीयवासीसहित शहरी स्वास्थ्य केन्द्रको भवनसमेत जोखिममा परेको छ ।

यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने जनाउँदै उहाँले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदीखोला १ नं का बस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ । नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा वर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायमा पहल गरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।

फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ । यसैगरी बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घरपरिवार विस्थापित भएका छन् । पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गए रातिको बाढीले बगाएको र केही घरपरिवार विस्थापित भएका सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिनुभयो ।

फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम तथा पोखरी निर्माण गरिएका थिए । फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो । हर्पनमा निर्माण गरिएको ड्यामको लागत अनुमानित रु नौ करोड रहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।

हर्पनखोलामा निर्माण गरिएको ९० मिटर लामो ड्याममध्ये अन्दाजी १० मिटर जति बगाएको र अहिले पनि निरन्तर बगाउने क्रम जारी रहेको छ । ठूलाखेतका बाढीबाट विस्थापित परिवार आफन्तकामा गएर बसेका छन् । ड्याम भत्किएर नदीले पूर्ववत धार परिर्वतन गरेसँगै घरहरु जोखिममा परेपछि स्थानीयवासी घर छाडेर हिँडेका थिए । फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, माटो, बालुवालगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ । फेवामा आउने गेग्रान रोकेर ताल संरक्षण गर्न भन्दै मुख्य नदीमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको हो ।

नासोंमा मात्रै एक अर्ब भौतिक क्षति

मनाङ– अविरल वर्षापछि आएको बाढीपहिराबाट नासों गाउँपालिकामा धेरै भौतिक क्षति भएको छ । गाउँपालिकाभित्र पर्ने जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको वर्षाले गर्दा आएको बाढीपहिराले गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक संरचनामा क्षति भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । गाउँपालिकामा सबैभन्दा बढी सडकमा क्षति पुगेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सडकमा मात्रै रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासों क्षेत्रभित्र रहेका कच्ची तथा पक्की सडकमा उक्त रकम बराबरको क्षति भएको रानाभाटलले बताउनुभयो । बाढीपहिराले गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको अध्यक्ष घलेले जनाउनुभयो । पालिकाअन्तर्गतका सात पुलमध्ये चार पुल बगाएको छ भने तीन पुल मात्र मर्मत गर्न सकिने अवस्थामा रहेको रानाभाटले बताउनुभयो । उहाँका अनुसार पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।

तीन जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको छ । यस्तै रु तीन लाख बराबरको गाउँपालिकाको एउटा मोटरसाइकल पनि बाढीले बगाएको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीको बाढीले हिमाली जिल्ला मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । वडा नं २ बाहेक सबै वडामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ ।

बाढी पहिराबाट १, ३, ४, ५, ६, ७, ८ र ९ नं वडा पूर्णरूपमा क्षति भएका छन् । बाढीपहिराले ३ नं वडामा रहेका सबैभन्दा बढी भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार १ नं वडाको तालगाउँ अहिले पूरै बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा आएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको छ । केही स्थानमा गोरेटो बाटो निर्माण गरिए पनि पुनः बाढीपहिराले लगेको छ ।

पुनः जोखिम

निरन्तरको वर्षापछि जिल्लामा पुनः जोखिम बढेको छ । बुधबार साँझ ४ः०० बजेदेखि परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीको सतह बढेपछि जोखिम बढेको हो । नदीको सतहमाथि आएपछि सदरमुकाम चामेस्थित बस्ती कटान भएको छ । केही दिन वर्षा कम भएकाले सहज बनेको मनाङमा वर्षा भएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । निरन्तर वर्षा हुँदा बहाव बढेकाले नदीको धार परिवर्तन भएको स्थानमा उच्च जोखिम रहेको उहाँले बताउनुभयो । डुबानमा परेका गाउँ फेरि डुब्ने अवस्थामा पुगेको लामिछानेले जनाउनुभयो ।

सदरमुकाम चामेबाट तल्लो भाग पुनः जोखिममा पुगेको उहाँले बताउनुभयो । “नदीको बहाव बढेकाले जिल्लाका धेरै स्थानमा जोखिम बढेको छ, मनाङको तल्लो भागमा अझै उच्च जोखिम भएको छ”, लामिछानेले भन्नुभयो, “सतर्कता अपनाउन सूचित गरिएको छ ।” नदी कटानले फेरि बस्तीबाट भौतिक संरचना बाढीले तान्न थालेको छ । अहिले पनि पानी पर्ने क्रम जारी रहेकाले समस्या बढ्न सक्ने देखिएको छ । बाढीपहिराले मनाङका बस्ती बगरमा परिणत भएका छन् । ती बगरमा बस्ती बसाउनसमेत लामो समय लाग्ने देखिएको छ ।

चार जिल्लामा सञ्चार सेवा अवरुद्ध

बलेवा– पहिराबाट फाइवरको तार चुडिँदा साविकको धवलागिरि अञ्चलका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको पोखरादेखि बागलुङ ल्याइएको फाइवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिराले चुडाइदिएको हो । तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखि नै फाइवरमा समस्या आएपछि खोजी गर्दा तार चुडिएको भेटिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो । “फाइवरबाटै फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अवरुद्ध हुन्छ”, शर्माले भन्नुभयो, “बाढी मिसिएको पहिरो बगिरहेकाले तत्काल मर्मत गर्नसमेत सकिएको छैन ।” पहिरो खसेको ठाउँमा टेलिकमले प्राविधिक पठाइसकेको जनाइएको छ । वर्षा भइरहेकाले तत्काल मर्मत असम्भव रहेको शर्माले बताउनुभयो ।

इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहानको समयमा मात्रै खुल्ने बैंक तथा वित्तीय संस्था प्रभावित भएका छन् । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयमा समेत समस्या भएको छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटसमेत चलेको छैन । एनसेएलको मोबाइल र डाटाले भने काम गरिरहेको छ ।

ठूलो शालिग्राम शिला डुबानमा

पर्वत– केही दिनदेखिको भारी वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभएको छ ।

शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको पराजुलीले बताउनुभयो । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्यावियन पर्खालसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उहाँले बताउनुभयो । यही असार १ गतेको बाढीले उक्त क्षेत्रमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको थियो भने नौ घर विस्थापित भएका थिए ।

कालीगण्डकीको बहाबले अहिले शिला र आसपासमा सत्तललगायतका संरचना डुबानमा परे पनि बजारसम्म आइनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले स्थानीयवासी भने रातभर जाग्राम बसेका थिए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा परेको हो । सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका हुन् ।

मध्यपहाडी राजमार्ग अवरुद्ध

ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेछ । पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपछि सडक वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडाँैलगायतका ठाउँका लागि छुटेका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धवलागिरितर्फ आएका सवारी साधन पर्वतको दोबिल्लामा अलपत्र बनेका छन् । सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् भने गए रातिदेखि इन्टरनेट र टेलिफोनसमेत अवरुद्ध भएकामा केहीबेर अघि मात्र चालु भएको हो ।

बन्दीपुरमा बगे छ घर

तनहुँ– बुधबार साँझदेखि परेको अविरल वर्षाका कारणको बन्दीपुर गाउँपालिका–२ स्थित खहरेमा छ घर बगाएको छ । स्थानीय खहरेखोलामा आएको बाढीले घर बगाएको हो । खोलाले घर बगाए पनि मानवीय क्षति नभएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । बन्दीपुर क्षेत्रमा अत्यधिक वर्षा भएकाले सबैलाई सचेत रहन गाउँपालिकाले सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

खोलाले घर बगाएपछि छ घरका मानिस नजिकैको आमा समूहको भवनमा आश्रय लिइरहेका छन् । केही दिनअघि बाढीले सोही स्थानमा दुई घर बगाएको थियो । सो स्थानका मात्रै आठ घरपरिवार अहिले घरबारविहीन बनेको उहाँले बताउनुभयो ।

ऋषिङमा बाह्र घरमा क्षति

ऋषिङ गाउँपालिकामा पहिराबाट १२ घरमा क्षति पुगेको छ । पहिराले घर पुरे पनि मानवीय क्षति भने नभएको गाउँपालिका कार्यालयले जनाएको छ । ऋषिङ–५ पिपलटाका १० घरमा पहिराले क्षति पु¥याएको छ । स्थानीय नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ । सोही निवासी सीता केसीको घर पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली क्षति भएको उहाँले बताउनुभयो । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ऋषिङ–४ निवासी वडा सदस्य टोलनाथ थापाको घर पहिराले पुरेको छ । घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो ।

त्यसैगरी गत बुधबारदेखिको वर्षाका कारण तनहुँमा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पहिरामा परी ऋषिङ–८ माझकोटका (गाउँपालिकामा सुरक्षा गार्डको रूपमा कार्यरत) खुमबहादुर आले पहिरामा परी बेपत्ता भएका हुन् । उहाँको खोजी तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निजका तीन भैँसी पुरिएकामा एक भैँसीको सकुशल उद्धार गरिएको छ ।

सोही वडाको गैह्रास्वरामा एक घर क्षतिग्रस्त र तल्लो छापस्थित कृति–नारायण विद्यालयको रेलिङ भत्किएर क्षति भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा रहेका छन् । ऋषिङ–६ मा दुई घर र केही वस्तु गोठ जोखिममा छन् । ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मज्योति विद्यालय भवन जोखिममा छ भने गाउँपालिकाभित्रका लगभग सबै क्षेत्रमा सडक यातायात अवरूद्ध अवस्थामा छन् । थुप्रै ठाउँमा खेतबारी बगाएको र बाली नष्ट भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !