१४ बैशाख २०८१, शुक्रबार

सङ्घ र प्रदेश सरकारबाट बाढी पीडितलाई सहयोग


लमजुङ । केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ ।

लमजुङ दोर्दी गाउँपालिका—८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार रु १० हजार र प्रदेश सरकारले प्रतिपरिवार डेढ बन्डल जस्तापाता सहयोग गरेको हो ।

सो सहयोग गण्डकी प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले पीडितहरुलाई हस्तान्तरण गर्दै आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सङ्घीय, प्रदेश र स्थानीय तीन वटै सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने छ भन्नुभयो । दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बाढी पीडित समुदायलाई थप सहयोग गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

गत आइतबारदेखि परेको वर्षासँगै आएको बाढीले १८ घर बगाएको छ भने ६० घरपरिवार विस्तापित भई हाल फलेनी माविमा बसिरहेका छन् । बाढीले यहाँ आवतजावत गर्ने सबै बाटो तथा पुल क्षतविक्षत गर्दा थप समस्या भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !