१४ बैशाख २०८१, शुक्रबार

कोभिड नियन्त्रणमा दाङका स्थानीय तहको सक्रियता


कोरोना नयाँ भेरियन्ट बी १.६१७

तुलसीपुर । मुलुक महामारीको चपेटामा परेपछि देशका कतिपय जिल्लाका स्थानीय तहले जनताको घरगाउँकै सरकारको अनुभूति दिएका छन् । ती निकायले घरमै गएर हेरचाह गर्नेदेखि फोन सम्पर्कबाट नियमित अपडेट हुने गरेको छ भने उपचारको प्रबन्धका लागि पनि राम्रो समन्वय गरेका छन् ।

कोरोना महामारी न्यूनिकरण तथा व्यबस्थापनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । “कोरोना महामारी रोकथामका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण छ”, राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले भन्नुभयो “यदि मुलुकमा स्थानीय तह हुँदैनथे भने मुलुकले कोरोना रोकथामका लागि निकै असहज हुनेथियो ।”

दाङ् जिल्लाका स्थानीय तहहर वडा भित्रका जनताका हरेक समस्यासँग वडाका प्रतिनिधिहरुदेखि सबै जुधिरहेका छन् । घोराही उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष शक्तिबहादुर डाँगी चिकित्सक सहितको टोली लिएर सङ्क्रमितको घरमै पुग्ने गर्नुभएको छ । यसले सङ्क्रमितहरुलाई सान्त्वना मिल्ने र आत्मबल बृद्धि हुने उहाँले बताउनुभयो ।

त्यस्तै बबई गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रामबहादुर डाँगीले पनि सङ्क्रमितहरुको घरमै गएर अबस्था बुझ्ने र सान्त्वना दिने गरेको बताउनुभयो । अहिले जिल्लाका एकसय वडा सबैले कोरोना सङ्क्रमितको घरमै पुगेर अबस्था बुझ्नुका साथै सहज उपचारकालागि पहल थाल्ने गरेका छन् ।

कोरोनाका सङ्क्रमित र मृत्यु हुने बढेसँगै अक्सिजनको हाहाकार भयो । घाम, पानी नभनी तिनै वडाका जनप्रतिनिधि खटिए । “राति पनि सुत्ने समय हुँदैनथ्यो । खाना खाने निश्चित समय हुदैनथ्यो । जनताका फोन उठाउँदा भ्याई नभ्याई हुने अबस्था आउथ्यो”, दंगीशरण गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले भन्नुभयो “ चौबीसै घण्टा अक्सिजनको व्यबस्थापन गर्दै जनताका सङ्क्रमित जनताका घर–घरमा पु¥याउनु पर्ने बाध्यता थियो ।”

दाङमा अक्सिजनको उत्पादन पर्याप्त थिएन । बन्द भएको अक्सिजन उद्योग, पुनः सञ्चालनमा आयो तर त्यसले दैनिक एकसय भन्दा बढी उत्पादन गर्न सकेन । त्यसैले नेपालगञ्ज, बुटवल, चितवनलगायतका स्थानबाट अक्सिजन ल्याउनु पर्ने र समयमा नआउँदा केही सङ्क्रमितको मृत्युसमेत हुने अबस्था आउने गरेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताउनुभयो ।

जिल्लामा कोरोनाको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । एकसय शय्याको अस्पताल भनिएपनि अक्सिजन अभाबकै कारण त्यहाँ ६० जना भन्दाबढी सङ्क्रमित राख्न सक्ने अबस्था आएन । विरामी अस्पताल आउछन्, उनीहरुलाई त्यतिकै मर्न त दिनु भएन भन्दै स्थानीय तह आफैले भएपनि उनीहरुलाई उपचार गर्न थाले । सबै स्थानीय तहले आइसोलेशन कक्ष स्थापना गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले त झन कोरोना विशेष मेट्रो अस्पताल नै सञ्चालनमा ल्याएको छ । विरामीलाई रेफर गर्न सहज होस्, भनी ‘हेलि प्याड’ निर्माण गरेको छ ।

देउखुुरी क्षेत्रको लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त पहलमा लमहीमा कोरोना अस्पताल सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर सङ्क्रमितहरुलाई उपचार गर्ने वातावरण मिलाएको छ । रातारात आइसोलेशन सेन्टरहरु निर्माण भए ।

अस्पतालहरुले भर्ना नलिएपछि अस्पतालहरुले आफै जसोतसो उपचारको प्रबन्ध गर्न बाध्य भए । शान्तिनगर गाउँपालिकाले एउटा सिलिण्डरबाट दुईजनालाई अक्सिजन दिएर भएपनि सङ्क्रमितको उपचार ग¥यो । “अस्पतालले भर्ना नलिएपछि हामी आफै पनि उपचार गर्नैपर्छ, हामीले सङ्क्रमित आएपछि भर्ना लिदैनौ भन्न मिल्दैन्, जसरी हुन्छ बचाउने स्थानीय सरकारको जिम्मा हो”, शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले भन्नुभयो “हामीले जसरी हुन्छ सङ्क्रमित बचाउने प्रत्यत्न गरिरहेका छौँ ।”

तुलसीपुर उपमहानगरापलिकाले घरघरमै अक्सिजन सिलिण्डर पु¥याउने संयन्त्र नै निर्माण ग¥यो । उपमहानगरपालिकाले तुलसीपुरका व्यबसायी पदमप्रसाद पोखरेललाई त्यसको जिम्मा दियो र उहाँले घरघरमै अक्सिजन सिलिण्डर मात्रै पु¥याउने काम मात्र गर्नुभएन व्यवसायीहरुसँग भएका सबै सिलिण्डरहरु खोजी गरेर केही बेलझुण्डी अस्पताललाई प्रदान गर्नुभयो भने केही तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा सहयोग गरेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

स्थानीय तहको सक्रियता र आह्वान पछि विभिन्न निकायबाट सहयोग पनि सङ्कलन हुन थाल्यो । विदेशबाट पनि सहयोग आयो । अक्सिजनका लागि लाखौँ रुपैयाँ बिदेशबाट आएपछि थप सहज भयो । “हामीलाई अमेरिकाबाटै रु ११ लाख भन्दा बढी रकम आयो”, दंगीशरण गाउँपालिकाका प्रेस संयोजक दिप्तीशिखा चौधरीले भन्नुभयो “त्यसले हामीले ३० वटा सिलिण्डर किनेका छौँ, यसले गर्दा हामीले २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउन सहज भयो ।”

स्थानीय तहको अनुरोध र समन्वयमा युवाहरुले अस्पताल निर्माणदेखि सङ्क्रमितको हेरचाहसम्म गर्न जाँगर चलाए । स्थानीय तहहरुले जनताको मागअनुसार केन्द्र तथा प्रदेश सरकारसँग पनि समन्वय गर्न सहज भयो । यसले जनतालाई प्रत्यक्ष रुपमा सरकार भएको अनुभूति भयो । आवश्यक औषधीको अभाव हुन पाएन । आफ्नो पालिकामा आवश्यक पर्ने हरेक सामग्रीको तत्काल आपूर्ति भयो ।

स्थानीय तहले उपचारमा मात्रै नभई मनोसामाजिक परामर्स पनि दिने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले एउटा समिति नै गठन गरेर सङ्क्रमितको घर–घरमा पुगेर मनोपरामर्स दिने गरेको छ । घरघरमा डाक्टर तथा जनप्रतिनिधिसहितको टोली पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेको संयोजक शुसिल बस्नेतले बताउनुभयो । कोरोनाका लक्षण देखिएकाहरुलाई वडा–वडामा पुगेर स्वाब सङ्कलन गर्ने कार्य पनि गरिएको छ । यसले लकडाउनको समयमा नागरिकलाई सहज हुने गरेको छ ।

तत्कालीन अवस्थामा दाङबाट प्रतिनिधित्व गर्ने २४ सांसद थिए । राष्ट्रियभाका तीन, प्रतिनिधिसभामा १० र प्रदेशसभामा ११ जना सांसद हुन् । ती सांसदहरुलाई पनि जनताले खोज्नुपर्ने अवस्था आयो । सामाजिक सञ्जालबाट सांसद खोज्ने अभियान समेत सञ्चालन गरियो । त्यस अभियानपश्चात केही सांसदहरुले केही अक्सिजन सिलिण्डर पनि उपलब्ध गराए । निवर्तमान प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले १० वटा, शान्ता चौधरीले १० र गंगा चौधरीले १२ वटा सिलिण्डर दाङ ल्याउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरिले केही सिलिण्डर सङ्क्रमितका घरैमा पुगेर वितरण गनुभयो ।

स्थानीय तहहरुले सीमित साधनस्रोतका कारण सोचेअनुसार काम गर्न भने सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिमा काम गर्ने इच्छा शक्ति राम्रो देखिएको स्थानीयले अनुभव गरे । यहाँ विज्ञ कर्मचारीको अभाव छ । सम्बन्धित विज्ञहरुको अभाव हुँदा प्राविधिक रुपमा पनि समस्या आउने गरेको स्थानीय तहहरुले दुखेसो पोख्दै आएका छन् । अर्कोतर्फ स्थानीय तहले अन्य बजेटलाई कटौती गरेर कोरोना कोषमा स्थानान्तरण गर्नुपर्नेमा त्यसो गर्न सकेको देखिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !