२० बैशाख २०८१, बिहिबार

रसुवामा बढे राहदानी लिनेहरू


राहदानी

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी लिनेको सङ्ख्या क्रमिकरूपले वृद्वि हुँदै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म राहदानी लिने रसुवालीको सङ्ख्या एक हजार ४६१ पुगेको छ ।

राहदानी प्रदानअन्तर्गत सेवाग्राहीको मागअनुसार ६६५ जनालाई कार्यालयबाट वितरण गरिएको र ७६१ वटा प्रदानका लागि परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको बताइएको छ । नागरिकता वितरण भने एक वर्षको दौरानमा ८२१ वितरण भएको सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।

सम्बन्धविच्छेदका मुद्दा बढे

न्यायका लागि दायर भएका अधिकांश मुद्दामध्ये पछिल्लो समय सम्बन्धविच्छेद बढ्न थालेको छ । चालु अर्थिक वर्षमा दायर भएका ४१ मध्ये ३६ मुद्दा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदसम्बन्धी रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।

अदालका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्षबाट सरी आएका ३० एवं चालु आवमा पर्न आएको ४१ समेत ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागतरूपमा रहेका छन् ।

यस्तै अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ । जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रमअन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानीसमेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताउनुभयो । जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !