२२ बैशाख २०८१, शनिबार

मानव अधिकारको रक्षा गर्न सबैको सहयोग चाहिन्छ : अध्यक्ष मगर


राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध महिला अधिकारकर्मीसँगको छलफल उहाँले मानव अधिकारको संरक्षण गर्न सबैलाई आग्रह गर्नुभएको हो । “मानव अधिकारको संरक्षण आयोगको एकल प्रयासले मात्र सम्भव छैन”, अध्यक्ष मगरले भन्नुभयो, “सबै नागरिक एवं सङ्घसंस्थाको समन्वय र सहकार्यले मात्र मानव अधिकारको संरक्षण गर्न सकिन्छ ।”

आयोगको छैठौँ रणनीतिक योजना निर्माणका सन्दर्भमा आज महिलाको अधिकार संरक्षण सम्बन्धी समावेश गर्नुपर्ने विषयमा सुझाव लिने उद्देश्यले छलफलको आयोजना गरेको हो । अनौपचारिक क्षेत्रमा काम गर्ने महिला तथा घरेलु कामदारका रुपमा कार्यरत महिलाको अधिकार उपभोगको अवस्था, यौन हिंसामा परेका महिलाको न्यायमा पहँुचका साथै जीवन सुरक्षाको अवस्था, जलवायु प्रदूषणले महिलाको प्रजनन् अधिकारमा पारेको प्रभाव, महिलाको मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिबाट नेपाललाई प्राप्त सुझाव एवं सर्वोच्च अदालतका आदेशको कार्यान्वयन अवस्थालगायतका विभिन्न विषयमा आयोगले अनुगमन र अध्ययन गरी सरकारलाई सिफारिस गर्नुपर्नेमा सुझाव ती संस्थाहरुले दिएको छ ।

स्थानीय सरकार विकास निर्माणका कार्यमा मात्र केन्द्रित रहेको अवस्थामा महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलगायत सामूहिक अधिकारका विषय ओझेलमा परेको र आयोगले यी विषयमा तल्लो तहसम्म अनुगमन तथा अनुसन्धान गरी सरकारलाई सिफारिस गर्नुपर्नेसमेत सहभागिको सुझाव थियो ।

आयोगका सदस्य लिली थापाले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको र उक्त सुझावलाई आयोगले संवैधानिक कार्यादेशबमोजिम प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।

छलफलमा आयोगका सदस्य मिहिर ठाकुर, मनोज दुवाडी, प्रवक्ता डा टीकाराम पोखरेल, आयोगका कर्मचारी, सङ्कल्प, पौरखी नेपाल, हिमराइट्स, एट्वीन नेपाल, टेवा नेपाल, बियोण्ड बेइजिङ कमिटी (बिबिसी), आदिवासी जनजाति महिला महासङ्घ, विश्वास नेपाल, एक्सनएड, एकल महिला समूहलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !