१४ जेष्ठ २०८१, सोमबार

नारायणगढ-मुग्लिन सडक अबरोध गर्दै काम गर्न शुरु


Narayan-mugling-highway

कार्तिक २३, चितवन | नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ । वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । उहाँका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।
स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरूका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार भित्तो काट्ने समयमा सवारी रोक्नका लागि रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोष्ट सिमलताल र इलाका प्रहरी कार्यालय मुग्लिनलाई जिम्मेवारी दिइएको छ ।
सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँहरूमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो । सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षात् अघिसम्म भने काम सकिने बताउनुभयो ।
हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा तीन सय मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उहाँले बताउनुभयो । आगामी फागुन मसान्तसम्ममा कालोपत्र गर्ने काम सक्ने गरी काम भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र गरिने छ ।
यसैबीच, यही कात्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको सेतीदोभानमा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकाले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवागमन बन्द गर्न लागिएको हो । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आवागमन रोकेर काम गरिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !