१४ बैशाख २०८१, शुक्रबार

नौखण्डे देउरालीमा औद्योगिकग्राम


थाहा नगरपालिका

हेटौँडा, २३ असार । व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्ने भएको छ ।

यसका लागि संभाव्यता अध्ययन भइरहेको बताइएको छ । नगरप्रमुख लगशेर विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वडा नं ११ स्थित नौखण्डे देउरालीमा औद्योगिकग्राम स्थापना हुने जानकारी दिनुभयो ।

औद्योगिक ग्राम स्थापनाका लागि मनोकामना मन्दिरको नजिक १०० रोपनी जमिनमा प्राविधिक अध्ययन थालिएको उहाँले बताउनुभयो । सीपमूलक तालीम सञ्चालन गरी साना उद्योग सञ्चालन गर्न चाहने व्यक्ति तथा फर्मलाई अनुदान र मेशनरी सहायता उपलब्ध गराउने व्यवस्था नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रमा छरिएर रहेको पूँजी सहकारीको माध्यमबाट एकीकृत गरी सहकारी र नगरपालिकाको साझेदारी विभिन्न सीपमूलक र आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ । नगरका स्थानीय वृद्धिजीवी हरिप्रसाद भट्टराईले औद्योगिक ग्राम स्थापना गर्नु खुशीको विषय भएको र विदेशमा रोजगारीका लागि युवालाई पठाउनुभन्दा स्वदेशमा सीपमूलक तालीम दिएर रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

वन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्रध्यापक दामोदर गैरेले जडीबुटीका लागि प्रख्यात रहेकाले जडीबुटी विकासका लागि जोड दिन आग्रह गर्नुभयो । थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज नेपालले औद्योगिक ग्रामका स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !