२२ बैशाख २०८१, शनिबार

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग


डोनाल्ड ट्रम्प

एजेन्सी, ३ बैशाख । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले गर्दै आएको आर्थिक सहायता रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन् । डब्लुएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको ट्रम्पको अभियोग छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि ट्रम्पले गम्भीर आरोप लगाउँदै कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको पनि बताएका छन् । यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनैपर्ने ट्रम्पले बताएका छन् ।

यसअघि ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लुएचओ चीनको पक्षमा वकालत गरेको अभियोग लगाएका थिए । डब्लुएचओका प्रमुखले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि डब्लुएचओले गरेको काम उपयुक्त नभएको बताएपनि अमेरिकामा उनको प्रशासनले संक्रमण फैलिन नदिनका लागि गरेको प्रयास पर्याप्त नभएको र सावधानी पनि ढिलो अपनाउँदा धेरैको ज्यान गएको अभियोग विज्ञलेहरुले नै लगाएका छन् । तर ट्रम्पले भने आफूले गरेका सबै काम सही र उपयुक्त रहेको दाबी गर्दै आएका छन् ।

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गएको वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २५ हजार भन्दा बढीको मृत्यु भएको छ भने पाँच लाख ९२ हजार भन्दा बढी संक्रमित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !